यू–१८ आइटिएफ वर्ल्ड र्‍याङकिङ टेनिस टुर : नेपालका हाडा, तामाङ र राणाको विजयी सुरुवात

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

 यू–१८ आइटिएफ वर्ल्ड  र्याङकिङ टेनिस टुरअन्तर्गत जे–५ सर्किट २ का खेलहरू सोमबारदेखि सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालाको टेनिस कोर्टमा प्रतियोगिता सुरु भएको हो । २५ मंसिरसम्म चल्ने प्रतियोगितामा नेपालसहित ११ देशका ८८ खेलाडी सहभागी रहेका संघका सचिव नवीन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सोमबारको खेलमा ब्वाइज र गल्र्समा सिंगल्सतर्फ २० र डबल्सतर्फ चार खेल भएका छन् । खेलमा नेपालका शीर्ष वरीयताका खेलाडी आरभ सम्राट हाडा, दोस्रो वरीयताकी सलोनी तामाङ र सुभांगीलक्ष्मी राणाले विजयी सुरुवात गरेका छन् ।

राणाले भारतीय खेलाडी आर्या भट्टाचार्यलाई ६–३, ६–४ को सोझो सेटमा, तामाङले भारतकै सोहनी सञ्जय मोहनीलाई टाइब्रेकरमा ६–०, (६–७) र ६–१ र राणाले बेल्जियमकी मिया क्रेस्तेवालाई टाइब्रेकरमा ४–६, ६–२ र ६–३ अंकले पराजित गरेकी थिइन् । यसैगरी ब्वाइज डबल्सतर्फ अमेरिकाका जय दत्त र नेपालका अर्यान गिरीको जोडीले नेपालका राजबहादुर प्रधान र सक्षमविक्रम शाहको जोडीलाई सुपरटाइमा पराजित गरे ।

अन्य खेलमा स्विडेनका इमिलियो जियोल्कोस्की, अमेरिकाका सिद्धार्थ लामा, भारतका चन्दन शिवराज, डेनमार्कका अलेक्जन्डर नोडा, भारतका हितेश चौहान, भारतकै कवीर चावरिया, अमेरिकाका मेथ्रे ब्यारेट विजयी भए । गल्र्सतर्फ भारतीय खेलाडीहरू दिभा भाटिया, मेहर मिश्रा, मिली चुग र हेना नागपाल, बेल्जियमकी सानोज बोभी विजयी भए ।

प्रतियोगितामा सहभागीहरूले ब्वाइज र गल्र्सतर्फ सिंग्लस र डबल्स विधामा प्रतिस्पर्धा गर्नेछन् । विजेता खेलाडीले स्वर्ण र रजत पदकसँगै अन्तर्राष्ट्रिय टेनिस संघबाट र्याङकिङ प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका २९ खेलाडी सहभागी छन् । नेपालसँगै भारतका ४१, अमेरिकाका ६, इजरायलका दुई, रसियाका दुई, बेल्जियमका दुई, ब्राजिलका दुई, डेनमार्कका एक, हंगेरीका एक, स्विडेनका एक र पोल्यान्डका एक खेलाडी सहभागी रहेको सचिव श्रेष्ठले जानकारी दिए ।

सुझावित समाचार