२१३ रन लक्ष्य पछ्याएको सुदूरपश्चिम यू–१९ टोली २८.३ ओभरमा ९९ रनमै अलआउट हुँदा लुम्बिनी ११३ रनले विजयी
लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार लुम्बिनीले सुदूरपश्चिमलाई ११३ रनको फराकिलो अन्तरले हराउँदै उपाधि हात पारेको हो ।
फाइनलमा पहिलो ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा सबै विकेट गुमाएर २१२ रनको योगफल खडा ग¥यो । प्रत्युत्तरमा सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा अलआउट हुँदा लुम्बिनीले ट्रफीमाथि कब्जा जमायो । प्रतियोगिताको फाइनलमा लुम्बिनीका अजय चौहान म्यान अफ दी म्याच भए । उनले २० रन खर्चेर सुदूरपश्चिमका पाँच खेलाडीलाई आउट पारेका थिए । लुम्बिनीकै मोहम्मद हुसेन ‘म्यान अफ दी सिरिज’ घोषित भएका छन् । उनले प्रतियोगिताभरि २१ विकेट लिनुका साथै ब्याटिङका क्रममा २७ रन जोडेका छन् ।
प्रतिओभर चारभन्दा माथि रनरेट पछ्याएको सुदूरपश्चिमले अजय चौहन र दुर्गेश गुप्ताको घातक बलिङ सामना गर्न सकेनन् । चौहानले आफ्नो ५.३ ओभरको स्पेलमा २० रन खर्चेका थिए । यसैगरी, सिमर दुर्गेशले नौ ओभरमा १९ रन खर्चेर तीन विकेट हात पारे । सुदूरपश्चिमले ४.५ ओभरमा पहिलो विकेट गुमाएको थियो । दुर्गेशले ओपनर नरेन भट्टलाई विकेटकिपर प्रज्वल थापाबाट क्याच गराए । दुर्गेशले लगातार विकेट लिँदा सुदूरपश्चिम ३३–३ को स्थितिमा पुग्यो । यसवेला ११.२ ओभर चलिरहेको थियो । पहिलो दश ओभरमा सुदूरपश्चिमले प्रतिओभर तीनको रनरेटमा लक्ष्य पछ्यायो ।
चौहानले मध्य तथा पुछारका ब्याट्सम्यानलाई एक पछि अर्को आउट पार्दा सुदूरपश्चिमको इनिङ्स २८.३ ओभरमै सीमित भयो । सुदूरपश्चिमको खराब ब्याटिङमा पाँचौँ क्रमका ब्याट्सम्यान लोकेश बलले सर्वाधिक २५ रनको योगदान दिए । उनले ३९ बलमा चार चौका प्रहार गरे । यसैगरी, ओपनर तथा कप्तान खड्क बोहराले ३६ बलमा तीन चौकाको सहयोगमा २१ रन बनाए । नारायण जोशी र शेर मल्लले छैटौँ विकेटका लागि २७ रनको साझेदारी गरे । सुदूरपश्चिमको सर्वाधिक साझेदारी नै यही रह्यो ।
नारायणले १८ बलमा दुई चौका प्रहार गरी ११ रन बनाए । शेरले एक छक्का प्रहार गरी १५ रन जोडे । यसअघि लुम्बिनीको पहिलो ब्याटिङमा दुई ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेलेका थिए । ओपनर तथा कप्तान देव खनाल र विशालविक्रम केसीले अर्धशतकीय योगदान दिँदा लुम्बिनीले सुदूरपश्चिमलाई मध्यम लक्ष्य दिन सफल भएको हो । यद्यपि, लुम्बिनीको सुरुवात निकै खराब रह्यो ।
इनिङ्सको दोस्रो बलमै लुम्बिनीले ओपनर आकाश त्रिपाठीलाई शून्य रनमा गुमाएको थियो । त्यसपछि कप्तान देव र प्रज्वलबीच दोस्रो विकेटका लागि ७८ रनको साझेदारी भयो । यी दुवै ब्याट्सम्यानले ०.२ देखि १८.६ ओभरसम्म साझेदारी गर्दा प्रतिओभर दुई रनमाथि थियो । प्रज्वलले ५३ बलमा तीन चौका र एक छक्का प्रहार गरी २४ रन बनाए । कप्तान देवले विशालविक्रमसँग चौथो विकेटका लागि ४१ रनको साझेदारी गर्दै टोलीलाई २८.६ ओभरमा १२१–४ को स्थितिमा राखे ।
आकाश चन्दको ओभरमा आउट हुनुअघि देवले ९५ बलमा पाँच चौका र चार छक्काको सहयोगमा सर्वाधिक ७० रनको योगदान दिए । त्यसपछि विशाल विक्रमले दुर्गेश गुप्तासँग सातौँ विकेटका लािग ३८ रनको साझेदारी गरे । विशाल विक्रमले ५१ रन बनाउँदै आफ्नो विकेट राहुल भण्डारीलाई दिए । उनले ६९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । दुर्गेशले ३३ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३२ रन बनाए । लुम्बिनीले अतिरिक्तबाट १७ रन पाएको थियो । बलिङका क्रममा आकाश चन्दले ४७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । यसैगरी, हेमन्त धामी र शेर मल्लले समान दुई विकेट हात पारे ।