सहिद स्मारक लिगको तेस्रो चरण आजबाट

शुक्रबार, १७ मंसिर, २०७८
डिजिटल संस्करण

ए डिभिजन लिगको तेस्रो चरणका खेल आज (शुक्रबार)बाट सुरु हुँदै छ । एन्फाको आयोजनामा लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । चार दिनसम्म चल्ने तेस्रो चरणमा तीन दिन दुई खेल हुनेछ भने एक दिन एक मात्रै खेल हुने तालिका सार्वजनिक भएको छ । दिनमा दुई खेल हुँदा पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने दोस्रो खेल तथा दिनको एक मात्रै खेल साँझ पौने ५ बजे हुनेछ । 

शुक्रबारको पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । यस्तै, दोस्रो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र एपिएफ फुटबल क्लबबीच खेल हुनेछ । शनिबारको पहिलो खेलमा दोस्रो स्थानमा रहेको संकटा क्लबले शीर्ष स्थानको मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती दिनेछ । सोही दिनको दोस्रो खेलमा च्यासल युथ क्लबले न्युरोड टिम एनआरटीसँग प्रतिस्पर्धा गर्नेछ । 

तेस्रो चरणअन्तर्गत आइतबार हुने एक मात्रै खेलमा ब्रिगेड ब्वाइज क्लबले त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्नेछ । एन्फाले २० मंसिरमा रंगशाला उपलब्ध नभएका कारण यस दिनको खेल २२ मंसिरमा हुने जनाएको छ । रंगशालामा युथ एथ्लेटिक्स प्रतियोगिता हुने भएसँगै तेस्रो चरणका अन्तिम दुई खेल सारिएको हो ।

बुधबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । यसैदिन तेस्रो चरणको अन्तिम खेलमा लगातार दोस्रो खेलमा पराजित जावलाखेल युथले साविक विजेता मच्छिन्द्र फुटबल क्लबको सामना गर्नेछ । दुई चरणको खेल सकिँदा मनाङ शतप्रतिशत जितका साथ शीर्ष स्थानमा छ । समान ४ अंक भएका संकटा, ब्रिगेड, मच्छिन्द्र, पुलिस, सातदोबाटो क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् ।

समान ३ अंक बनाएका थ्री स्टार र च्यासल सातौँ र आठौँ स्थानमा रहँदा आर्मी नवौँ स्थानमा छ । समान १ अंकका शेर्पा, फ्रेन्ड्स र एनआरटी क्रमशः १०औँ, ११औँ, र १२औँ स्थानमा रहँदा कुनै अंक जोड्न नसकेका जावलाखेल र एपिएफ रेलिगेसन जोनमा छन् । १४ क्लब सहभागी लिगको पुछारमा रहने दुई क्लब ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन् । 

सुझावित समाचार