एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित

बिहिबार, १६ मंसिर, २०७८
डिजिटल संस्करण

बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन द बैंकरले ‘द बैंक अफ द इयर एसिया २०२१’ अवार्डको लागि एनएमबि बैंकलाई छनोट गरेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता देशका प्रतिस्पर्धीहरूलाई पछि पार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो । यस्तो पुरस्कार प्राप्त गर्ने एनएमबि दक्षिण एसियाको पहिलो बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए । उनले भने, ‘यो नेपालको बैंकिङ उद्योगकै लागि आफैँमा एउटा ऐतिहासिक उपलब्धि हो ।’

योसँगै एनएमबिले ‘द बैंक अफ द इयर २०२१’ अवार्ड पनि जितेको छ । एनएमबिको पाँच वर्षमा चौथो अवार्ड हो । द बैंकर म्यागजिन, लन्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएकै दिन एभरेष्ट होटेलमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो । सो उपाधि प्रधानमन्त्री शेरबहादुर देउवाले बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा प्रदान गरेका छन् ।  प्रधानमन्त्री देउवाले ‘द बैंक अफ द इयर एसिया २०२१’जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानित हुनु नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए ।

सन् २००० मा स्थापित ‘बैंक अफ द इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ महादेशभरिकै सर्वोत्कृष्ट बैंकहरूलाई छुट्टाछुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्यांकन गर्ने र विश्वकै अग्रणी संस्थाका रूपमा मान्यता प्रदान गर्ने मानकका रूपमा लिइन्छ ।

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहल, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीन सेवा र प्रतिकूल परिस्थितिको सामना गर्ने क्षमताजस्ता मापदण्डका आधारमा यो अवार्ड प्रदान गरिन्छ । परम्परागत बैंकिङभन्दा एक कदमअगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋणपत्र जारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारका लागि ओम्नी च्यानलको प्रयोग गर्ने, २४ घन्टाभित्रै कागजी झन्झटविना सापटी कर्जा प्रवाह गर्नेजस्ता नवीनतम सेवा प्रदान गर्दै आइरहेको छ ।

सुझावित समाचार