काठमाडौं/ सडक दुर्घटनाबाट कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को दुई प्रतिशत हाराहारीमा आर्थिक नोक्सानी हुने गरेको संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले बताए ।
डिजिटल ब्रोडकास्ट इनिसेटिभ इक्युएल एसेस नेपाल (डिबिआइइए)ले इन्ड्राइभसँगको सहकार्यमा आयोजना गरेको एक कार्यक्रममा सडक विभागका सहसचिवसमेत रहेका नेपालीले नेपालको सडक सुरक्षामा १३ करोड ४० लाख डलर लगानी आवश्यक देखिएको बताए ।
पछिल्लो समय अन्य मुलुकमा सडक दुर्घटना घट्दा नेपालमा भने बढेको उनको भनाइ छ । सोही कारण छिट्टै नै सडक सुरक्षासम्बन्धी कानुन संसद्मा पेस गरिने उनले बताए । यसैगरी, राइड सेयरलाई पनि नियमनको दायरामा ल्याउने गरी काम भइरहेको उनले बताए ।
कार्यक्रममा इन्ड्राइभको नेपाल निर्देशक रीता पोेख्रेलले राइड सेयरलाई नियमनको दायरामा राख्नुपर्ने बताइन् । ‘राइड सेयरलाई सरकारले व्यवस्थित रूपमा नियमनको दायरामा लैजान ढिला गर्न हुँदैन । यसमा हामी आवश्यक सहकार्य गर्न तयार छौँ,’ उनले भनिन्, ‘हामी कर प्रणालीमा पनि आबद्ध हुन तयार नै छौँ । तर, सबै नीति तथा कानुन पहिला छलफल तथा अनुसन्धान गरेर ल्यायौँ भने राम्रो हुने थियो ।’
यस्तै, डिबिआइइएका कार्यकारी निर्देशक जनकराज भट्टले पनि सडक सुरक्षालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए । यसैगरी, राइड सेयरजस्ता नयाँ प्रविधिलाई कानुनको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।