मेटलाइफको नयाँ दाबी व्यवस्थापन प्रणाली सुरु

मंगलबार, १४ मंसिर, २०७८
डिजिटल संस्करण

मेटलाइफ नेपालले लघुबिमा दाबीका लागि नयाँ दाबी व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ । कम्पनीले ग्राहकलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्ने प्रणाली सुरु गरेको हो ।  नयाँ प्रणालीमा दाबी आवश्यकता र डिस्चार्ज भौचरका लागि स्वचालित इमेलहरूको व्यवस्थाका साथसाथै दाबी पेस गर्न र भुक्तानीको समयलाई घटाउनका लागि स्वचालित दाबी मूल्यांकनजस्ता सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।

 मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कम्पनी आफ्ना ग्राहकको थप आत्मविश्वासी भविष्य निर्माणमा मद्दत गर्न प्रतिबद्ध रहेको बताए । दु्रत दाबी समाधान नै लघुबिमा ग्राहकहरूको प्राथमिकता रहेको र यसका लागि उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न नयाँ दाबी व्यवस्थापन प्रणाली कोसेढुंगा साबित हुने उनको दाबी छ । 

कम्पनीको ग्रामीण कर्जा बिमाले देशका ७७ जिल्लाभरिका लघुवित्त संस्था तथा सहकारीका ऋणीलाई बिमा सुरक्षा प्रदान गर्दै आएको जनाइएको छ । ऋणीहरूको कर्जा चुक्ता क्षमतालाई प्रभाव पार्न सक्ने अप्रत्याशित घटनाहरूबाट जोगाउन बिमाले ऋणीहरूको बाँकी रहेको कर्जा चुक्ता गरी निजहरूको परिवारलाई थप आर्थिक सहयोग प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ । 

लघुवित्त संस्थाका ऋणीहरूको बिमा सुरक्षामा पहुँचका लागि कुनै औपचारिक माध्यम नभएकोमा कम्पनीले सन् २००९ मा पहिलोपटक यसको सुरु गरेको जनाइएको छ । मेटलाइफले हाल चौबिस लघुवित्त संस्थाहरूसँग साझेदारी गरी आठ लाख ऋणीको बिमा गरेको जनाएको छ । हालसम्म कम्पनीले करिब चौबिस हजार दाबीहरूबापत एक अर्ब ३० करोड रुपैयाँ भुक्तान गरिसकेको जनाइएको छ ।

See More On

सुझावित समाचार