भारतीय नागरिक पक्राउ घटनामा गृहको छानबिन

सोमबार, ६ मंसिर, २०७८
डिजिटल संस्करण

शंकास्पद गतिविधिमा संलग्न पाँच भारतीय नागरिकलाई पक्राउ गरी गोप्य रूपमा छाडेको घटनामा गृह मन्त्रालयले छानबिन थालेको छ । करिब एक महिनाअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचजना भारतीयलाई पक्राउ गरेको थियो । संयुक्त अरब इमिरेट् (युएई)को सारजाह विमानस्थलबाट उनीहरू नेपाल आएका थिए । विमानस्थलबाट निस्किएलगत्तै महानगरीय प्रहरी कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । त्यसबारे माथिल्लो निकायलाई कुनै जानकारी नगराइएको र उनीहरूको अवस्थाबारे जानकारी नपाएपछि गृहले छानबिन थालेको हो । गृहले आन्तरिक छानबिन गर्नुका साथै गृहसचिव टेकनारायण पाण्डेले त्यसबारे थप बुझ्न प्रहरी प्रधान कार्यालयलाई समेत निर्देशन दिएको स्रोत बताउँछ । 

स्रोतका अनुसार विमानस्थलका प्रत्यक्षदर्शीले गरेको उजुरीका आधारमा छानबिन थालिएको हो । भारतीय नागरिकहरू यासिर अराफाद, मोहम्मद नुर, मोड रसद, सकिल अलि, मोहम्मद रहबु गत ५ कात्तिकमा नेपाल आएका थिए । ‘सिसिटिभी फुटेजमा उनीहरूलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिएसपी नमराज भट्टराईले नियन्त्रणमा लिएर गएको देखिन्छ,’ छानबिनमा संलग्न गृहका एक अधिकारीले भने, ‘तर, उनीहरूको अवस्था अहिलेसम्म अज्ञात छ, त्यसबारे प्रहरी मुख्यालयलाई पनि जानकारी गराइएको पाइएन ।’ पक्राउ गर्न डिएसपी नेतृत्वको टोली सादा पोसाकमा गएको थियो । उनीहरूमध्ये कोही होटेल लाफा त कोहीले होटेल मन्त्रमा बस्ने गरी अध्यागमनमा आफ्नो विवरण टिपाएका थिए । उनीहरू आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू भएको सूचना गृह मन्त्रालयले पाएको छ । 

महानगरीय प्रहरी कार्यालयका डिएसपी भट्टराईले आपराधिक गतिविधिमा संलग्नताको आशंकामा केहीलाई पक्राउ गरिएको, तर पुष्टि हुन नसकेपछि छाडिएको बताए । यसबारे विमानस्थल प्रहरीलाई जानकारी दिइएको थिएन । सामान्यतया, महानगरीय प्रहरी कार्यालयले अनुगमनका काम गर्ने भए पनि आफैँ पक्राउ गर्न गएको घटना शंकास्पद देखिएकाले छानबिन थालिएको गृह मन्त्रालय स्रोत बताउँछ । ‘भारतीय नागरिकहरू युएई हुँदै नेपाल आउनु आफैँमा शंकास्पद छ,’ छानबिनमा आबद्ध गृहका अधिकारी भन्छन्, ‘उनीहरूमध्ये दुईजना जम्मु–कास्मिरका छन्, उनीहरू आपराधिक समूहमा आबद्ध भएको हुन सक्ने देखिन्छ । तर, उनीहरूको अवस्थाबारे हाल जानकारी पाउन सकिएको छैन । प्रहरीको औपचारिक रेकर्डमा केही देखिन्न ।’

सुझावित समाचार