दाङको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ। शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम सात सय १० मिलिग्राम ब्राउनसुगरसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूले ब्राउनसुगर बिक्री–वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारिएको हो। सुशीलाको घर तुलसीपुर उपमहानगरपालिका– ६ स्थित विद्युत् कार्यालयदेखि पछाडि रहे पनि हाल तुलसीपुर– ५ मा बस्दै आएकी छिन् । प्रहरीका अनुसार आमा–छोरा नै ब्राउनसुगर कारोबारी हुन्।
उक्त कारोबारमा उनका श्रीमान् वसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै अनुसन्धानका लागि खोजी जारी रहेको प्रमुख अर्यालले बताए। तुलसीपुरमै ठूलो परिमाणमा ब्राउनसुगर बरामद गरिएको हो।
उनीहरूलाई पक्राउ गर्नुभन्दा पहिले तुलसीपुर बसपार्कबाट दुईजनालाई पक्राउ गरिएको थियो। ब्राउनसुगरको कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्दा तुलसीपुर– ५ बसपार्कनिवासी २५ वर्षीय धीरज बुढाथोकीको साथबाट पाँच सय ४० मिलिग्राम र बबई गाउँपालिका– ४ घर भई हाल तुलसीपुर– ६ बरुवागाउँमा डेरा गरी बस्दै आएका प्रख्यात शाहको साथबाट दुई २ सय ६० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ।