सर्वोच्चमा यस साताभित्रमा गोलाप्रथाबाट पेसी तोक्ने गरी तयारी भइरहेको छ । बिहीबार सर्वोच्चका १८ न्यायाधीशले पूर्ण बैठक बसी ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८’ पारित गरेका थिए । पछि मात्र प्रधानन्यायाधीशले उक्त बैठकको निर्णयमा हस्ताक्षर गरेका थिए ।
सर्वोच्च प्रशासनका अनुसार कार्यविधि फुलकोर्टबाट पारित भए पनि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सम्पादन भएर आएपछि पुनः राजपत्रमा प्रकाशनका लागि पठाइनेछ । सहरजिस्ट्रार बाबुराम दाहालका अनुसार शुक्रबार नै नियमावली संशोधनको जानकारी मन्त्रालयलाई गराइसकिएको छ ।
दाहालले भने, ‘सम्भवतः आइतबार नै वा सोमबारसम्म नियमावली संशोधन भई आइसक्छ । अनि फेरि राजपत्रमा प्रकाशनका लागि पठाउँछौँ । त्यहाँ पनि समय नलाग्ला । त्यसपछि पूर्ण बैठक फेरि बस्छ र गोलाप्रथा लागू गर्ने मिति तोकेपछि लागू हुन्छ ।’
यो लागू भएसँगै तजबिजीका आधारमा पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती हुनेछ । बार र सर्वाेच्चका अन्य न्यायाधीशले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनका क्रममा यो माग पनि उठाउँदै आएका थिए ।