नेपाल बार एसोसिएसनले आफूहरूको शान्तिपूर्ण धर्नामा प्रहरीले दमन गरेको भन्दै उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने बताएको छ। बारले पत्रकार सम्मेलन गरी विज्ञप्ति जारी गर्दै आज भएको घटनाको अनुसन्धान र आगामी कार्यक्रमहरूको अनुगमन गर्न मानव अधिकारवादी संघसंस्थालाई आह्वान गरेको हो।
‘आजको बर्बरतापूर्ण आक्रमणको अनुसन्धान र आगामी कार्यक्रमहरूमा अनुगमन गर्न हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै मानव अधिकारसम्बन्धी संघसंस्थालाई आह्वान गर्दछौँ,’ बारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आजको प्रदर्शनमा प्रहरीको दमनबाट कानुन व्यवसायी घाइते भएको घटनामा पनि बारले ध्यानाकर्षण गराएको छ। प्रहरीले बल प्रयोग गर्दा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, अधिवक्ता प्रकाश महर्जन, वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, अधिवक्ताहरू ऋषिराम घिमिरे, कपिलचन्द्र पोखरेल, युवराज बञ्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण, गोपाल सापकोटालगायतका कानुन व्यवसायी घाइते भएका छन्।
युद्धको समयमा प्रयोग हुने हतियार ल्याएर बार आन्दोलन दबाउन खोजिएको भन्दै बारले भोलिदेखि अदालत परिसरबाट दंगा प्रहरी हटाउन गृह मन्त्रालयको ध्यानाकर्षण गरेको छ। भिजिलान्तेहरूबाट फेरि कानुन व्यवसायीमाथि आक्रमण भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रधानन्यायाधीश, अदालत प्रशासन र गृह प्रशासनले लिनुपर्ने भन्दै बारले भोलिदेखि आन्दोलनको मोडालिटी परिवर्तन गर्ने घोषणासमेत गरेको छ।
