नेपाली महिला क्रिकेट टोलीले पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता जितेको छ । नेपालले कतारको राष्ट्रिय महिला टोलीलाई आइतबार दोस्रो अन्तर्राष्ट्रिय खेलमा ६१ रनले हराउँदै एक खेल अगाडि नै सिरिज २–० ले हात पारेको हो । यसअघि शनिबार नेपालले कतारमाथि ऐतिहासिक रुपमा एक सय १९ रनको फराकिलोअन्तरले हराएको थियो । दोहोमा नेपालले पुनः एकपटक ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रनको योगफल बनायो । प्रत्युत्तरमा कतार १९.३ ओभरमा ६८ रनमा अलआउट भयो ।
कप्तान रुविनाको अर्धशतक
कतारविरुद्धको दोस्रो खेलमा नेपालकी कप्तान रुविना क्षेत्रीले अर्धशतकीय इनिङ्स खेलिन् । नेपालको महिला क्रिकेट इतिहासमा अन्तर्राष्ट्रिय टी–२० मा अर्धशतक बनाउने रुविना दोस्रो खेलाडी बनेकी छिन् । यसअघि कतारविरुद्ध नै पहिलो खेलमा इन्दु बर्मा पहिलो नेपाली खेलाडीकी रूपमा अर्धशतक बनाएकी थिइन् । उनले ४७ बलमा ५५ रन जोडेकी थिइन् । पहिलो खेलमा घाइते भएकी बर्माले बुधबारको खेल खेलिनन् । दोस्रो खेलकी म्यान अफ दी म्याच रुविनाले ४८ बल सामना गरी चार चौका र एक छक्का प्रहार गरी ५० रन जोडिन् । पहिलो ब्याटिङ गरेको नेपालको इनिङ्समा चौथो क्रममा ब्याटिङ गरेकी रुविना १९.४ ओभरमा
आउट भइन् ।
तीन ब्याट्सम्यान मात्र चले
नेपालको इनिङ्समा केवल तीन ब्याट्सम्यान मात्र चले । ओपनर कविता कुँवर, कप्तान रुविना तथा अस्पारी वेगमले मात्र दोहोरो रनको योगदान दिए । ओपनर कविताले लगातार तेस्रो विकेटसम्म समग्रमा ७६ रनको साझेदारी गरिन् । उनी १०.४ ओभरमा आउट भइन् । कविता आउट हुँदा नेपालको रनरेट प्रतिओभर सातभन्दा माथि थियो । त्यसपछि लगातार विकेट गुमाउँदा नेपालको रनरेट ६.४५ मा सीमित भयो । कविताले ३० बलमा दुई छक्का प्रहार गरी ३१ रनको योगदान दिइन् । आठौँ क्रमकी ब्याट्सम्यान अस्पारीले आक्रामक इनिङ्स खेलिन् । उनले अन्तिमसम्म आउट नभई १७ बलमा एक चौकाको सहयोगमा २३ रन बनाइन् । नेपालको ब्याटिङमा पाँच ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् । नेपालको ब्याटिङमा तीन छक्का र ६ चौका प्रहार भयो ।
सरस्वतीको घातक बलिङ
नेपालविरुद्ध लगातार खेलमा कतारका ब्याट्सम्यान कमजोर देखिए । उनीहरूले नेपालको धारिलो बलिङविरुद्ध डटेर सामना गर्न सकेनन् । एक सय ३० रनको लक्ष्य पछ्याएको कतारलाई कम योगफलमा समेट्ने क्रममा नेपालकी सरस्वती कुमारीले घातक बलिङ गरेकी थिइन् । उनले चार ओभरमा आठ रन खर्चेर चार विकेट लिइन् । यसक्रममा उनले एक मेडन ओभर पनि फ्याँकिन् । नेपाललाई पुनः एकपटक सानदार जित दिलाउने क्रममा कप्तान रुविनाले २.३ ओभरमा दुई विकेट लिन सफल भइन् । उनले दुई विकेट लिन १२ रन दिइन् ।
कमजोर ब्याटिङ
कतारले सुरुवात दोस्रो खेलमा पनि कमजोर रह्यो । कतारले सुरुवाती चार विकेट गुमाउँदा स्कोर बोर्डमा केवल १७ रन मात्र जोडेको थियो । इनिङ्सको ७.३ ओभरमा कतारले ओपदर हिराल अग्रवाल र तेस्रो क्रमकी सविजा पानायामलाई शून्य रनमा गुमाएको थियो । त्यसपछि कप्तान आयश तथा इम्तियाजबीच चौथो विकेटका लागि ३४ रनको साझेदारी भयो । कप्तान आयशाले ३२ बलमा दुई चौकाको सहयोगमा २४ रन जोडिन् । कतारका नौ ब्याट्सम्यानले दोहोरो रन पनि बनाएनन् । तीनजना ब्याट्सम्यान डकआउट, दुई ब्याट्सम्यान एक रन तथा दुई ब्याट्सन समान चार रनमा आउट भए ।
ज्योति र सवनमको डेब्यु
नेपालबाट बधुबार दुई खेलाडीले डेब्यु गर्न सफल भए । ज्योति पाण्डे तथा सवनम राईले कतारविरुद्ध अन्तर्राष्ट्रिय टी–२० खेलमा डेब्यु गरेका हुन् । डेब्यु खेलमै ब्याटिङ गरेकी ज्योतिले नौ बलमा एक चौका प्रहार गरी ६ रन बनाइन् । उनी इनिङ्सको २.५ ओभरमा आउट भइन् । सवनमले ब्याटिङ गर्न नपाए पनि बलिङमा एक विकेट लिइन् । उनले चार ओभरमा एक मेडन राखी एक विकेट लिएकी हुन् । सवनमले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी–२० विकेटका रूपमा कतारकी केरीलाई १५ रनमा बोल्ड गरिन् ।