चिसोले बालबालिकामा निमोनियाको जोखिम बढ्यो

१० वर्षमा निमोनियाबाट नेपालमा २३ हजारभन्दा बढी बालबालिकाको मृत्यु

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

जोन हप्किन्स युनिभर्सिटीले गरेको विश्वव्यापी सर्वेक्षणअनुसार निमोनिया संक्रमणबाट गत वर्ष विश्वभर आठ लाखभन्दा बढी बालबालिकाको ज्यान गएको थियो । अर्थात् विश्वभर निमोनियाका कारण प्रत्येक ३९ सेकेन्डमा एक बच्चाको ज्यान जान्छ ।

एक सातादेखि तीन वर्षीया छोरीलाई रुघाखोकी र ज्वरो निको नभएपछि सीतापाइला बस्दै आएकी गीता गुरुङ सोमबार कान्ति बाल अस्पताल पुगेकी थिइन् । उनले स्थानीय मेडिकलबाट औषधि ल्याएर छोरीलाई खुवाइरहेकी थिइन् । तर, ज्वरो र कोखा हान्ने समस्या अझै बढ्दै गएपछि अस्पताल आएको उनले बताइन् । उनी भन्छिन्, ‘५–६ दिनदेखि घरका सबैजनालाई रुघाखोकी लागिरहेको थियो । चिसोले होला भनेर वास्ता गरिनँ । नानीलाई ज्वरो बढ्दै गएकोले निमोनियाको शंका गरेर बिहानै अस्पताल आएँ ।’ उनी परीक्षणका लागि पालो कुरेर बसिरहेकी थिइन् । 

कान्ति अस्पतालका अनुसार गुरुङको जस्तै समस्या लिएर आउनेको संख्या केही दिनयता बढिरहेको छ । अधिकांश यस्ता बालबालिकामा रुघाखोकी र ज्वरोसहितका लक्षण हुने गरेको छ । कोभिड र मौसमी फ्लुका अधिकांश लक्षण मिल्दाजुल्दा भएकोले समेत परीक्षणका लागि अस्पताल आउने बढ्न थालेको चिकित्सकहरू बताउँछन् । नियमित परीक्षणका लागि मात्रै नभई रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा कठिनाइजस्ता लक्षणसहितका बालबालिकाले इमर्जेन्सी वार्डमा समेत भिड लागेको छ । बालबालिकाको उपचार हुने अन्य अपस्तालका इर्मेजेन्सी र ओपिडीका बेडहरू निमोनियाका लक्षणसहितका बिरामीले भरिन थालेको डा. सन्तोष मानन्धर बताउँछन् । 

निमोनिया एन्टिबायोटिकको प्रयोगबाट निको पार्न सकिन्छ । साथै, बालबालिका र वृद्धवृद्धाका लागि निमोनियाविरुद्धको भ्याक्सिनसमेत उपलब्ध छ । तर, नेपालमा हरेक वर्ष ज्यान गुमाउने पाँच वर्षमुनिका बालबालिका मध्ये करिब १३ प्रतिशतको मृत्यु निमोनियाबाट हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर अधिकतम १५ प्रतिशत बालबालिकाको मृत्यु निमोनियाबाट हुने गरेको छ । परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार, प्रतिएक हजार बालबालिकामध्ये ८० देखि सयजना बालबालिका निमोनियाबाट प्रभावित हुन्छन् । यस्तै हरेक वर्ष डेढ लाखभन्दा बढी बालबालिका निमोनियाको लक्षण लिएर अस्पताल पुग्ने गरेका छन् । विभागको तथ्यांकअनुसार आव ०७६/७७ मा एक लाख २९ हजार २३ जना पाँच वर्षमुनिका बालबालिका अस्पताल पुगेका थिए भने ०७५/७६ मा एक लाख ५० हजार आठ सय ८७ बालबालिका निमोनियाबाट प्रभावित भएको तथ्यांक छ । यो वर्षको तथ्यांक भने विभागले सार्वजनिक गरेको छैन । तर, कोभिड संक्रमण र अत्यधिक चिसोका कारण निमोनिया सिभियर (जटिल) हुने जोखिम बढेको चिकित्सकहरू बताउँछन् । 

निमोनियाका कारण विश्वमा प्रत्येक ३९ सेकेन्डमा एक बच्चाको मृत्यु
उपचार सहज बन्दै गए पनि निमोनियाबाट नेपालमा बालबालिकाको मृत्युदर भने बढ्दै गएको छ । युनिसेफको एक तंथ्याकअनुसार पछिल्लो एक दशकमा नेपालमा निमोनियाबाट २३ हजारभन्दा बढी बालबालिकाले ज्यान गुमाएका छन् । डा. प्रभाकर शाहका अनुसार, निमोनिया ब्याक्टेरिया, भाइरस वा फन्जाईको संक्रमणबाट हुन्छ र बालबालिकाको फोक्सो पिप र तरल पदार्थले भरिँदा सास फेर्न छोड्छ । निमोनिया बालबालिकाको मृत्युको मुख्य कारण बन्ने गरेको छ । जोन हप्किन्स युनिभर्सिटीले गरेको विश्वव्यापी सर्वेक्षणअनुसार निमोनिया संक्रमणबाट गत वर्ष विश्वभर आठ लाखभन्दा बढी बालबालिकाको ज्यान गएको थियो । अर्थात् विश्वभर निमोनियाका कारण प्रत्येक ३९ सेकेन्डमा एक बच्चाको ज्यान जान्छ । 

चिसो मौसममा दम, ब्रोंकाइटिसजस्ता श्वासप्रश्वाससम्बन्धी समस्याले जटिल रूप लिन्छन् । कोभिड संक्रमणले फोक्सोमा प्रत्यक्ष असर गर्ने हुँदा दमका बिरामीहरूमा जटिलता थपिँदै गएको छ । 

डा. प्रकाश पौड्याल, वरिष्ठ छातीरोग विशेषज्ञ

केही प्रकारका निमोनियालाई भ्याक्सिनद्वारा रोकथाम गर्न सकिन्छ र उचित निदान भएमा कम लागतमा एन्टिबायोटिकद्वारा सजिलै उपचार गर्न सकिन्छ । तर, नेपालमा पाँच वर्षमुनिका पाँच बालबालिकामध्ये भ्याक्सिनको पहुँचमा एकजना मात्रै रहेको पाइन्छ । साथै, निमोनियाका लक्षण भएका धेरै बालबालिका उपचारको पहुँचबाहिर रहेकाले समेत मृत्युदर नियन्त्रणमा आउन नसकेको अध्ययनको निष्कर्ष छ । 

निमोनिया मात्रै नभई चिसो र कोभिडका कारण यो वर्ष मौसमी फ्लुको समस्या पनि बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । यसबाहेक हाल उपचारका लागि मौसमी फ्लू अर्थात् डेंगी, स्क्रब टाइफस, इन्फ्लुएन्जाको समस्या लिएर अस्पताल पुग्नेको संख्या बढेको पाइन्छ । सामान्यतया चिसो बढ्दै गएपछि विभिन्न फ्लु, श्वासप्रश्वसम्बन्धी समस्या, निमोनिया, बाथरोग र मुटुसम्बन्धी समस्या बढ्ने जोखिम छ । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार, एक दशकयता मौसमी फ्लु र निमोनियाबाट प्रभावित हुने संख्या निरन्तर बढिरहेको छ ।

कोभिडले श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्ने
चिसो मौसममा दम, ब्रोंकाइटिसजस्ता श्वासप्रश्वाससम्बन्धी समस्याले जटिल रूप लिने गरेको छ । कोभिड संक्रमणले फोक्सोमा प्रत्यक्ष असर गर्ने हुँदा दमका बिरामीहरूमा जटिलता थपिँदै गएको बताउँछन्, वरिष्ठ छातीरोग विशेषज्ञ डा. प्रकाश पौड्याल । उनका अनुसार कोभिडले लामो समयसम्म अस्पताल बसेका वा फोक्सोमा असर पुर्‍याएका व्यक्तिहरूमा दम र ब्रोंकाइटिसको समस्या बढ्न सक्छ । यस्तै दम र अन्य श्वासप्रश्वाससम्बन्धी एक्युट समस्या हुने व्यक्तिमा कोभिड संक्रमणको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य सेवा विभागका अनुसार आव २०७७/०७८ मा श्वासप्रश्वाससम्बन्धी विभिन्न समस्या लिएर १३ लाख ४६ हजार दुई सय ७१ जना स्वास्थ्य परीक्षण र उपचारका लागि अस्पताल पुगेको प्रारम्भिक तथ्यांक छ । अत्यधिक चिसो र लामो समयसम्म कोभिड प्रभावित बढेकोले यो वर्ष श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढ्न सक्ने चिकित्सकहरूको अनुमान छ ।

 डेंगुको जोखिम कायमै
डा. शेरबहादुर पुन सरुवारोग विशेषज्ञ

वर्षायाम सकिए पनि डेंगुको जोखिम कायमै छ । चिसो बढ्दै जाँदा डेंगु संक्रमण नियन्त्रणमा आउने भए पनि यो वर्ष अहिलेसम्म पनि अस्पतालमा डेंगुका बिरामीको चाप छ । भाइरल संक्रमणको उपचार हुने सबैभन्दा ठूलो अस्पताल टेकुमा हाल डेंगु परीक्षणका लागि दैनिक चाप देखिन थालेको छ ।

चिकित्सकहरूका अनुसार डेंगुका अधिकांस लक्षण कोभिडसँग मिल्दोजुल्दो हुन्छ । यही कारण स्वास्थ्य परीक्षणविना अनावश्यक औषधिको प्रयोगसमेत बढेको बताउँछन्, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन । उनी भन्छन्, ‘मौसमी फ्लु र कोभिडका अधिकांश लक्षण मिल्ने हुँदा उपचारमा समेत कठिनाइ छ ।’

इन्फ्लुएन्जा र स्क्रब टाइफस संक्रमणसमेत जाडो मौसमको सुरुवातीमा देखिने गरेको पाइन्छ । कोभिडपश्चात् एच३ अर्थात् हङकङ फ्लु र भिक्टोरियाका संक्रमित बढी देखिन थालेको चिकित्सकहरू बताउँछन् ।

योसँगै फ्लु बीअन्तर्गत यमागार्टा र भिक्टोरियाभन्दा फरक फ्लु बढी देखिन थालेको छ । जसलाई ‘सन् २०२१ पछि ‘नट डिटरमाइन्ड’ अर्थात् पहिचान नभएको अर्को फ्लु नाम दिइएको छ । यसबाहेक चिसोका कारण ज्वरो, रुघाखोकी, टन्सिल आदिले समेत समस्या निम्त्याउने गर्छ । 

सुझावित समाचार