नोभेम्बर ११ का दिन अनलाइन बजार दराजले सञ्चालन गरेको ११.११ बिक्री अभियानमा २४ घन्टाभित्र सात लाख अनलाइन खरिदकर्ताले सामान खरिद गरेका छन् । योसँगै दराज ११.११ को चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोड्न सफल भएको हो । त्यस दिन दराजले ३६ करोड रुपैयाँभन्दा बढीको बिक्री गरेको जनाएको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो एकदिवसीय सेल रहेको कम्पनीको भनाइ छ । अभियान सुरु भएको पहिलो घन्टामै ६ करोड रुपैयाँको उत्पादन बिक्री भएको र यो अघिल्लो वर्षको पहिलो घन्टाको तुलनामा १ सय ३० प्रतिशतले बढी रहेको कम्पनीले जनाएको छ । गत वर्षको रेकर्ड तोड्दै यो अभियानमा ५० प्रतिशतभन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्टमार्फत भएको जनाइएको छ ।
११.११ मा बिक्री गर्ने व्यवसायीमध्ये ५५ प्रतिशतले कोभिड–१९ महामारीको समयमा दराजमा बिक्री सुरु गरेको जनाइएको छ । कम्पनीले विगत डेढ वर्षमा साना र मझौला उद्यमहरूका व्यवसायहरू उत्थान गर्न जारी गरेको प्रयासका कारण यो वर्षको अभियानमा सबै कीर्तिमान तोडिएको कम्पनीको ठहर छ । दराज समूहका सिइओ र संस्थापक बियार्के मिक्केलसेनले ११.११ को सफलताले दराजको बल र ग्राहकले खरिद गर्ने उत्पादनको गुणस्तरलाई रेखांकित गरेको बताए । एक दिनको सेलले कसरी साना र मझौला उद्यमहरूले आफ्ना सम्भावनालाई अनलाइनबाट वृद्धि गर्न सक्छन् भन्ने प्रमाणित भएको उनको भनाइ थियो ।
पहिलो ११.११ अर्डर सोही दिनको बिहान ८ बजे डेलिभरी गरिएको र अब सात लजिस्टिक पार्टनर र एक हजारभन्दा बढी डेलिभरी राइडरहरूसँग मिलेर देशभरका ४७ सहरहरूमा प्रत्येक अर्डर डेलिभर गर्नमा पूर्ण रूपमा केन्द्रित हुने कम्पनीले जनाएको छ । दराज नेपालका एमडी लिनो अलरिंगले ११.११ को सफलता पूरा वर्षको कडा परिश्रमको नतिजा भएको र यस्तो कीर्तिमानी अभियानमा सबै सरोकारवालाको सहयोग जोडिएको बताए । लजिस्टिक पूर्वाधारहरूमा गरिएको महत्वपूर्ण लगानीका कारण कम्पनीका सबै प्रतिज्ञा पूरा गर्न सक्नेमा विश्वस्त रहेको उनको भनाइ थियो । ११.११ को सफलतापछि आउने दिनमा ग्राहकका लागि ११.११ का लोकप्रिय अफर र विभिन्न ब्रान्ड हाइलाइटहरू लिएर आउने कम्पनीले जनाएको छ ।