गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको औचित्य छैन : नेता सिंह

बुधबार, २४ कार्तिक, २०७८
डिजिटल संस्करण

सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन्। गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

नेता सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्रकाे ओैचित्य नरहेको बताए। सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरुरी नै नरहेको उनकाे भनाइ थियो। ‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ। यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ,’ सिंहले भने, ‘काम त सरकारले गर्नुपर्ने हो। तर, समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन।’

उनले गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उनले बताए। उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको दाबी छ। ‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ। प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ उनले भने।

उनले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने पनि बताए। ‘न्यायलयमा देखिएका समस्या त्यहीँभित्रबाट समाधान होस् भनेर मात्र हुँदैन। सरकार यस विषयमा मूकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनुहुन्न। साथै नेता सिंहले वर्तमान परिस्थितिमा अर्ली इलेक्सनको कुनै सम्भावना नभएको बताए। उनले देशमा विधिको शासन स्थापना गराउन र संविधानको रक्षाका लागि वर्तमान सरकार बनेकाले संविधानअनुसार नै तोकिएको समयमा निर्वाचन हुने बताए।

‘कुनै व्यक्तिविशेष र पार्टीविशेषको रुचिमा अर्ली इलेक्सन हुँदैन । संविधानको व्यवस्थाअनुसार निर्वाचन हुन्छ,’ नेता सिंहले भने। कार्यक्रमा उनले प्रजातन्त्र प्राप्तिका लागी गणेशमान सिंहले गरेको योगदान स्मरण गरेका थिए। कांग्रेस स्थापना र देशमा प्रजातन्त्र स्थापनाका लागि सर्वमान्य नेता गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको भन्दै उनले गणेशमानले देखाएको बाटो वर्तमान कांग्रेसले पछ्याउनुपर्ने बताए।

सुझावित समाचार