ऋषिमोहन रेग्मी खोटाङको दिप्रचुइचुम्पा–४ (तत्कालीन बतासे) मासेगाउँको आँगेमा १४ चैत २००४ मा जन्मिएका थिए । खोटाङमा जन्मिए पनि जीवनको उत्तराद्र्धमा उनले विराटनगरलाई कर्मथालो बनाएका थिए । उनी विराटनगरका चर्चित उद्यमी पनि बने । उनले राजस्व कार्यालयमा जागिर खाएका थिए । कर कार्यालयमा जागिर खाँदाखाँदै उद्योगी व्यापारीहरूको संगतले उनी आफैँ उद्यमी बन्न पुगेका थिए । २६ कात्तिक २०७७ मा मृत्यु भएका ऋषिमोहनको स्मृतिमा स्मृति ग्रन्थ प्रकाशन भएको छ ।
खोटाङबाट विराटनगर झरेर महेन्द्र मोरङ क्याम्पसमा पढ्न थालेसँगै उनी वामपन्थी विद्यार्थी संगठनमा आबद्ध भएका थिए । विराटनगरका पुराना वामपन्थी बुद्धिजीवी केशव गौतमले स्मृतिग्रन्थमा उल्लेख गरेअनुसार उनी कलेजमा पढ्दा राजनीतिमा सक्रिय थिए । कोसीमेची कोअर्डिनेसन कमिटीका सदस्यसमेत थिए । तर, पछि जीविकोपाजर्नका लागि जागिरे भए । र, उद्योगीहरूको संगतले पेट्रोल पम्प, काठ व्यवसाय र कोल्ड स्टोर उद्यमी बने ।
वामपन्थी पृष्ठिभूमि भए पनि उनी पछिल्लो समय पुँजीवादी बनेका थिए । तर, समाजसेवामा उनको रुचि थियो । शाकाहारी र सदाचारी जीवनशैलीका रेग्मीको घरमा पूर्वप्रधानमन्त्री माधव नेपाल, गुरु बराल, लालबाबु पण्डितजस्ता नेताहरूको नियमित अवातजावत हुन्थ्यो । र, उनी आफूले आस्था राख्ने पार्टीलाई सकेको सहयोग पनि गर्थे ।खोटाङ समाजिक सेवा मञ्च केन्द्रीय कार्यालय विराटनगरले उनको वार्षिक पुण्यतिथिमा स्मृतिग्रन्थ प्रकाशनमा ल्याएको हो ।
ग्रन्थमा उनका छोरा, छोरी, ज्वाइँ नातागोता मात्र नभएर अग्रज राजनीतिज्ञहरूले पनि ऋषिमोहनलाई सम्झेका छन् । एमाले नेता गुरु बरालदेखि वामपन्थी बुद्धिजीवी केशव गौतमलगायतले ऋषिमोहन राष्ट्रवादी पुँजीपति भएको र उनी सफल समाजसेवी पनि रहेको उल्लेख गरेका छन् । स्मरण ग्रन्थमा ऋषिमोहनले कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भेटपत्र पठाउँदा पनि भेट्न नचाहेको प्रसंग उल्लेख छ । स्वर्गीय ऋषिमोहनका कान्छा भाइ सनत कुमारका अनुसार ०४८ को चुनावमा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले ऋषिमोहनलाई भेट्न इच्छा गर्दै पत्र पठाएछन् । तर, पत्र पढेपछि ऋषिमोहनले उत्तर दिएछन्, ‘सिद्धान्तप्रति मेरो दोग्ला चरित्र छैन यसैले भेट नगरौँ धन्यवाद ।’
स्मृतिमा ऋषिमोहन ग्रन्थ नितान्त र एउटा मध्यमवर्गीय परिवारको कथा हो । तर, यसले समाजलाई केही नयाँ सन्देश चाहिँ दिएको छ । त्यो के भने काम गर्ने तर अभिलेखीकरण नगर्ने नेपाली शैलीलाई तोडेर पुर्खाको इतिहास संरक्षण गर्ने चलन चलाएको छ । अर्को ऋषि मोहन कस्ता थिए भन्ने भविष्यमा बुझ्न र समाजलाई बुझाउन पनि एउटा इतिहास छाडेको छ । होला ऋषिमोहन कुनै ठूला साधुसन्त वा समाजसेवी होइनन् । तर, पैसा कमाएर पनि वामपन्थी आन्दोलनमा सकेको सहयोग गर्न सकिन्छ भन्ने उनले उदाहरण दिएका छन् । उनले कांग्रेस नेता गिरिजाप्रसादको भेटलाई अस्वीकार गरेर आफ्नो निष्ठालाई पिपलपाते बनाउन हुँदैन भन्ने सकारात्मक सन्देश दिन पनि सफल भएका छन् ।
उनकी धर्मपत्नी शकुन्तला रेग्मी संरक्षक, एमाले नेता गुरु बराल र कांग्रेसनिकट बुद्धिजिबी तथा प्राज्ञ दधिराज सुवेदी प्रमुख सल्लाहकार रहेको ‘स्मृतिमा ऋषिमोहन ग्रन्थ’ उनका सहपाठी विराटनगर निवासी कृष्णप्रसाद भण्डारी मार्सेलीले सम्पादन गरेका हुन् । स्मृतिग्रन्थमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली, एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शुभकामना दिएका छन् । र, पुस्तकमा अग्रज पत्रकार प्रमोद प्र्रधान, नेता गुरुप्रसाद बराल, प्राज्ञ दधिराज सुवेदी, वामपन्थी अभियन्ता केशव गौतमदेखि कल्पना प्रधान, डा. विमलप्रसाद कोइराला, नेपाल सरकारका उपसचिव दिव्यराज पोखरेल, बुद्धिजीवी बलराम पोखरल, प्रदेश १ योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेललगायतले ऋषिमोहनको कार्य, सोच र व्यवहारबारे लेखेका छन् ।
पुस्तकमा लेखिएअनुसार ऋषिमोहनले परम्परात संयुक्त परिवारको प्रचलनलाई पनि निरन्तरता दिएको पुस्तकमा उल्लेख छ । मकै, भटमास, मोही, दही खान रुचाउने, परालको सुकुलमा बस्न मनपराउने, चौलानी हालेको गुन्द्रकको झोलसँग भात औधी स्वाद मान्ने ऋषिमोहन उत्तराद्र्धमा पुँजीवादी भए पनि प्रगतिशील विचारबाट मुक्त हुन नसकेको पुस्तकमा उल्लेख छ । नेपाली राजनीतिक आन्दोलनमा उनले धेरै ठूलो योगदान दिन नसके पनि सानो आपत् पर्दा पनि हामी तालाचाबी सरकारलाई बुझाएर आफ्नो देश फर्कन्छौँ भन्दै सधैँ घुर्की लगाउने विस्तारवादी पुँजीपतिहरूका लागिचाहिँ उनी चुनौती हुन् । उनले स्थापना गरको जानकारी कोल्ड स्टोर अहिले पनि प्रदेश १ को ठूलो कोल्ड स्टरका रूपमा चलिरहेको छ । उनले दिएको पाँच बिघा जग्गाकै कारण मनमोहन प्रतिष्ठानले मोरङको बुढीगंगा–४ हात्तीमुढामा सञ्चालन गरेको मनमोहन पोलिटेक्निक आज देशकै सशक्त प्राविधिक क्याम्पसमा परिणत भएको छ ।