एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभई समितिको बैठकमा मत राख्न चेतावनी दिएका छन्। मंगलबार बिहान रावलले ट्विट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएको सन्दर्भमा भट्टले सामाजिक सञ्जालमा नभई समितिको बैठकमा मत राख्न चेतावनी दिएका हुन्।
एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा भट्टले रावललाई फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नौटंकी नदेखाउन चेतावनी दिए। उनले भने, ‘नेपाली राजनीतिमा नेपाली कल्चर जो छ, हिजोको दिनमा एउटा मर्यादित, जुन खालको सुव्यवस्थित र सम्मानजनक ढंगले जाने र आफ्ना मतहरूलाई व्यक्त गर्ने, कमिटी प्रणाली छ, संगठनात्मक कमिटी प्रणालीबाट हामीले हरेक समस्या, विचार, भिन्न मतलाई छलफल र समाधान गर्दै आएका छौँ, कसैलाई आफूलाई चित्त बुझेन भने मैले भनेको हुनुपर्छ नत्र म आउँदिनँ भन्ने, उपस्थित हुन्न भन्ने, राजीनामा दिन्छु भन्ने, यी खालका अभिव्यक्ति आउँछन्, पार्टी, मविना हुँदैन भन्ने चिन्तन जुन छ, यो चिन्तन गलत छ, व्यक्ति नभए पनि पार्टी चल्छ, देश चल्छ र जीवन चल्छ। यहाँ त निर्माण गरेकोलाई ध्वंस गर्ने काम भइरहेको छ।’
भट्टले असन्तुष्ट विचारले अन्य पार्टीलाई मात्र खुसी बनाउने बताए। एमाले कैलालीको पार्टी कार्यालयमा उपाध्यक्ष रावलको अनुपस्थितिमै प्रदेश कमिटीको पूर्ण बैठक चलिरहेको छ।
बैठकमा प्रदेश अध्यक्ष कर्ण थापाले सुदूरपश्चिममा एमाले अधिवेशन शान्तिपूर्ण ढंगले सम्पन्न भएको बताए। बैठकमा प्रदेश इन्चार्ज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरू पाल, प्रदेश अध्यक्ष थापा, सचिव राजेन्द्रसिंह रावललगायतको उपस्थिति छ ।