सर्वोच्च अदालतमाथि ओलीको आक्रोश– सेटिङ गरेर सर्वोच्चले प्रधानमन्त्री बन्न रोक्यो

मंगलबार, २३ कार्तिक, २०७८
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले यथास्थितिवादीहरूसँग सेटिङ गरेर सर्वोच्च अदालतले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बन्न वञ्चित गरेको बताएका छन् । एमाले मोरङले विराटनगरमा गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अमर्यादित, अशोभनीय र लोकतन्त्रविरोधी फैसला गरी सर्वोच्चले आफूलाई रोकेको बताए ।

‘सर्वोच्च अदालतको काम संविधानको व्याख्या गर्ने हो संविधान नै फेर्ने होइन,’ उनले भने, ‘तर, सर्वोच्चले यथास्थितिवादीहरूसँग सेटिङ गरेर मैले प्रधानमन्त्रीमा उम्मेदवारी हाल्न नपाउने फैसला गर्याे । उक्त फैसला अमर्यादित र अशोभनीय मात्र होइन, लोकतन्त्रविरोधी पनि हो ।’

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका ओलीले सम्बोधनको क्रममा अधिकांश समय सर्वोच्चविरुद्ध आक्रोश पोखे । ‘दुईतिहाइ जनमत पाएको पार्टीको अध्यक्षले प्रधानमन्त्रीमा उम्मेदवारी नै हाल्न नपाउने भनेर जागिर खानेहरूले फैसला गरे । त्योचाहिँ अग्रगमन हुने अनि जनमतका लागि जनतामा जाने कुराचाहिँ प्रतिगमन हुने ? यस्तो पनि हुन्छ ?’ ओलीले भने ।  उनले आफू र आफ्नो पार्टीविरुद्ध अदालतमा भएका सेटिङहरू बिस्तारै खुल्दै गएको र बाँकी अदृश्य सेटिङहरू पनि खुल्दै जाने दाबी गरे । 

आगामी निर्वाचनमा कांग्रेससँग प्रतिस्पर्धा
अध्यक्ष ओलीले आगामी निर्वाचनमा कांग्रेससँग मात्र एमालेको प्रतिस्पर्धा हुने जिकिर गरे । कांग्रेसबाहेकका पार्टीको जमाना जफत हुने उनको भनाइ थियो । ‘अबको चुनावमा हाम्रो प्रतिस्पर्धा अलि–अलि कांग्रेससँग मात्र हुन्छ, अरूले त जमानत जोगाए भने धन्य,’ ओलीले भने, ‘पाँचदलीय गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी भनेका हुक्के र ढोकेहरू हुन् । कांग्रेसको औँला समाउन पाएनन् भने उनीहरू उठ्न पनि सक्दैनन् ।’ उनले पाँचदलीय गठबन्धनलाई पाँचतिर फर्किएका पञ्चमुखीको संज्ञा दिए । उनले एमाले टुक्रिएर माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी आगामी निर्वाचनपछि सुकेको कागतीजत्रै हुने दाबी गरे । 

सुझावित समाचार