नेपाल आइसिसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा सीधै छनोट भएको छ । योसँगै नेपालले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु नपर्ने भएको छ । आइसिसी टी–२० वरीयताका आधारमा नेपालले सीधै ग्लोबल छनोट खेल्न अवसर पाएको हो । अहिले नेपाल आइसिसी टी–२० को १३औँ स्थानमा छ । नेपालले जिम्बाबे, युएई, हङकङ तथा पपुवा न्युगिनीजस्ता राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
सन् २०२२ को फेब्रुअरी तथा मे महिनामा ग्लोबल छनोट हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सीधै छनोटमा परे पनि ग्लोबल छनोटको तयारी तथा पुनः विश्वकप खेल्ने सपना पूरा गर्न धेरै म्याच एक्सपोजर आवश्यकता रहेको प्रतिक्रिया दिएका छन् । सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा नेपाल पहिलोपटक छनोट भएको थियो । ‘सीधै ग्लोबल छनोटमा पुग्नु राम्रो हो तर यो चरण पार गर्न त्यति सहज छैन,’ कप्तान मल्लले नयाँ पत्रिकासँग भने, ‘हामीले ग्लोबल छनोट हुँदै विश्वकप खेल्ने सपना पूरा गर्नु छ । यसका लागि बढीभन्दा बढी अन्तर्राष्ट्रिय म्याच एक्सपोजर खेल्नु पर्छ ।’
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले २०२० को जनवरीको वरीयताअनुसार नै सन् २०२२ को विश्वकप ग्लोबल छनोट प्रक्रिया सार्वजनिक गरेको हो । अर्को वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा शीर्ष आठ टोली सुपर १२ मा पुगेका छन् । आयोजक अस्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश, अफगानिस्तानले सुपर १२ मा स्थान पक्का गरेका हुन् । युएई र ओमानमा जारी टी–२० विश्वकपको सुपर १२ मा पुगेका श्रीलंका, वेस्ट इन्डिज, स्कटल्यान्ड तथा नामिबिया पनि अर्को वर्ष हुने विश्वकपमा छनोट भएका छन् । यी सबै टोली पहिलो चरणमा रहेका छन् ।
आइसिसीले अस्ट्रेलियामा हुने विश्वकपमा १६ टोली भाग लिने जनाएको छ । बाँकी चार टोली ग्लोबल छनोट माध्यमबाट आउने आइसिसीले जनाएको छ । वरीयताअनुसार नै आइसिसीले क्षेत्रीय छनोट खेल खेल्नु नपर्ने राष्ट्रहरूको नाम सार्वजनिक गरेको हो ।
ग्लोबल छनोटमा १६ टोली भाग लिँदै
ग्लोबल छनोटमा १६ टोलीले भाग लिने आइसिसीले जनाएको छ । आइसिसीले सहभागी टोलीलाई दुई समूहमा विभजित गरेको छ । प्रत्येक समूहमा आठ टोली हुनेछन् । दुई समूहका शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकपमा स्थान पक्का गर्नेछन् । कप्तान मल्लले अब छिटो अभ्यास थाल्नुपर्ने बताएका छन् । ‘हामीले छनोट प्रतियोगितालाई मध्यनजर राखी छिटो प्रशिक्षण गर्नुपर्छ,’ उनले भने, ‘एक महिनाको तयारीले पुग्दैन ।’
गत महिना नेपालले ओमानमा आइसिसी विश्वकप लिग–२ मा प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले ओमान र अमेरिकाविरुद्ध समान एक जित र हारको सामना गरेको थियो । त्यसपछि काठमाडौंमा एभरेस्ट प्रिमियर लिग (इपिएल) भयो । राष्ट्रिय टोलीका खेलाडी इपिएलमा सहभागी भए । ओमान भ्रमणपछि नेपाली टोलीको क्लोज क्याम्प बसेको छैन । यद्यपि, खेलाडीहरू व्यक्तिगत प्रशिक्षणमा रहेको मल्लले जानकारी दिएका छन् । ‘ओमान भ्रमणपछि इपिएल सुरु भयो, सबै त्यसमै व्यस्त भए, त्यसयता हाम्रो क्लोज क्याम्प बसेको छैन,’ उनले भने, ‘छनोटको मध्यनजर राखी अभ्यास गर्नुपर्ने वेला भइसकेको छ, व्यक्तिगत अभ्यासले मात्रै काफी छैन ।’
छनोट प्रतियोगितामा नेपालभन्दा बलियो टोली आउने भएकाले तयारी राम्रो हुनुपर्ने उनको भनाइ छ । ‘ग्लोबल छनोटमा एकसे एक बलिया टोली छन्, उनीहरूसँग प्रतिस्पर्धा गर्न हाम्रो तयारी त्यहीअनुसार हुनुपर्छ, यसका लागि धेरै अन्तर्राष्ट्रिय एक्सपोजर म्याच आवश्यक छ ।’ एक्सपोजर खेलले नै नतिजा राम्रो आउने उनले जनाए । ओमानमा सम्पन्न विश्वकप लिग–२ पछि नै नेपालका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका थिए । डेढ महिनादेखि नेपाली टोली मुख्य प्रशिक्षकविहीन छ । कप्तान मल्लले पनि मुख्य प्रशिक्षक नियुक्ति तत्काल हुनुपर्ने बताए । ‘अहिले मुख्य काम भनेको नै मुख्य प्रशिक्षक नियुक्ति हो,’ उनी भन्छन् ।