ट्विटर पोलपछि एलन मस्कलाई टेस्लाको १० प्रतिशत सेयर बेच्न दबाब !

सोमबार, २२ कार्तिक, २०७८
डिजिटल संस्करण

अर्बपति एलन मस्कलाई ट्विटर प्रयोगकर्ताहरूले टेस्ला कम्पनीको १० प्रतिशत सेयर बेच्न आह्वान गरेका छन्। ट्विटर पोलमा सहभागी प्रयोगकर्ताहरूले कर तिर्नका लागि मस्कले टेस्ला कम्पनीमा रहेको सेयर बिक्री गर्नुपर्ने मत जाहेर गरेका हुन्।

टेस्ला र स्पेस एक्सका सिइओसमेत रहेका मस्कले शनिबार ट्विटरमा गरेको पोल (मत सर्वेक्षण)मा सहभागी ३५ लाख प्रयोगकर्तामध्ये करिब ५८ प्रतिशतले सेयर बेच्नुपर्ने पक्षमा भोट गरेका थिए। टेस्लाको १० प्रतिशत सेयरको मूल्य करिब २१ विलियन अमेरिकी डलर हुने बिबिसीले उल्लेख गरेको छ।

मस्कले पोलको नतिजालाई आफूले स्वीकार गर्ने बताउँदै शनिबार भोटका लागि ट्विटरमा आह्वान गरेका थिए। पोलको नतिजापछि सेयर बेच्न दबाबमा परेका मस्कले अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

अमेरिकी डेमोक्रेटिक पार्टीले सिनेटमा प्रस्ताव गरेको ‘विलिनेयर ट्याक्स’को जवाफस्वरूप मस्कले ट्विटरमा यस्तो पोल गरेका हुन्। प्रस्तावअनुसार अर्बपतिहरूले आफ्नो सेयरको मूल्य वृद्धि हुँदा सेयर बिक्री नगरे पनि ‘अप्रत्याशित लाभ’मा आयकर लाग्नेछ। यो प्रस्ताव पारित भएमा अमेरिकाका करिब सात सय अर्बपतिहरू करको दायरामा आउने बताइएको छ।

सोही ट्विटमा मस्कले आफूले आफ्नो कुनै पनि कम्पनीबाट तलब वा बोनस नलिएको उल्लेख गरेका छन्। यसको अर्थ आय कर तिर्नका लागि उनको कमाइ शून्य छ भन्ने हुन्छ। यद्यपि, कम्पनीले निर्धारित लक्ष्य पूरा गर्दा र बजारमा कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्दा कम्पनीका सिइओले ‘कम्पेन्सेसन प्याकेज’अन्तर्गत अर्बौँ डलरसहित विभिन्न सेवा सुविधा पाउँछन्।

सुझावित समाचार