नोभेम्बरमा युएईमा हुने आइसिसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ । आइसिसीले बुधबार छनोट प्रतियोगिताको ड्र (तालिका) सार्वजनिक गरेको हो । नेपाली महिला क्रिकेट टोलीले दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउन लागेको हो । महिला क्रिकेटरले अन्तिमपटक १३औँ दक्षिण एसियाली खेलकुदमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । सन् २०१९ मा पोखरामा भएको १३औँ सागमा नेपालले महिला क्रिकेटतर्फ कांस्य पदक हात पारेको थियो । त्यसपछि विश्व कोरोना भाइरसले आक्रान्त बनाउँदा महिला खेलाडीले स्पर्धा गर्न पाएनन् । यसबीच नेपालमा महिला क्रिकेट त्यति व्यस्त नहुँदा खेलाडीहरूले प्रशिक्षण तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाएका थिएनन् । दुई वर्षपछि अन्तर्राष्ट्रिय खेलमा फर्कन पाउँदा खेलाडी उत्साहित छन् ।
एसिया क्वालिफायरमा ६ राष्ट्रको सहभागिता
आइसिसी टी–२० विश्वकपको एसिया क्वालिफायरमा नेपालसहित ६ राष्ट्रले भाग लिँदै छन् । एसियन छनोटमा नेपाल, हङकङ, भुटान, कुवेत, मलेसिया र आयोजक युएईले प्रतिस्पर्धा गर्नेछन् । खेल एकल राउन्ड रोविनका आधारमा हुनेछ । एकल राउन्ड रोविनको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । सन् २०२३ को फेब्रुअरीमा दक्षिण अफ्रिकाले आइसिसी महिला टी–२० विश्वकप आयोजना गर्दै छ ।
नेपालले २३ नोभेम्बरमा भुटान, २५ नोभेम्बरमा कुवेत, २६ नोभेम्बरमा मलेसिया र २८ नोभेम्बरमा आयोजक युएईको सामना गर्नेछ । ग्लोबल छनोटमा पाँच क्षेत्रका उत्कृष्ट टोलीसहित आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान पक्का गर्नेछन् । नेपालको विश्वकप खेल्ने सपना पूरा गर्न पहिलो पाइलाका रूपमा एसियन छनोट रहेको छ । पछिल्लोपटकको तुलनामा यसपटकको छनोटमा नेपाललाई केही सहज छ । एसियाकै शक्तिशाली राष्ट्रका रूपमा रहेको थाइल्यान्ड यसपटक एसिया छनोटमा छैन । थाइल्यान्ड सीधै ग्लोबल छनोटमा पुगेको छ । छिमेकी राष्ट्र चीनले पनि सहभागिता जनाएको छैन । केही समययता नेपालको टाउकोदुखाइ नै थाइल्यान्ड र चीन हुँदै आइरहेको छ । यी दुवै कडा प्रतिस्पर्धी राष्ट्र नहुँदा नेपाललाई युएईमा हुने एसियन छनोटमा उपाधिको प्रमुख दाबेदार राष्ट्रकै रूपमा लिइएको छ ।
रुबिनाको नेतृत्वमा १४ सदस्यीय टोली
एसियन छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले रुबिना क्षत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । खेलाडीहरूलाई नेपालकै अनुभवी प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिइरहेका छन् । टमाटाले तीन महिनादेखि खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । नेपालले अहिलेसम्म एसियन छनोट पार गरेको छैन । घोषित १४ खेलाडी सबै अनुभवी तथा युवा छन् । कप्तान रुबिना, सीता रानामगर, करुण भण्डारी, ज्योति राणाले लगातार एक दशकदेखि नेपाली राष्ट्रिय टोलीमा स्थान बनाइरहेका छन् । यसैगरी, काजल श्रेष्ठ, इन्दु बर्मा र सरस्वती चौधरीको अनुभव पनि छनोट प्रतियोगितामा काम लाग्न सक्छ । क्यानले यसपटक खेलाडी छनोटको मुख्य आधार नै गत वर्ष दाङमा प्रधानमन्त्री कप तथा ललितपुर मेयर कप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको थियो । क्यानले खेलाडीलाई प्रतियोगिताका लागि दसैँ ब्रेकपछि तयारी अवस्थामा राखेको छ ।
नेपालको खेल
६ मंसिरमा हङकङ, ७ मंसिरमा भुटान, ९ मंसिरमा कुवेत, १० मंसिरमा मलेसिया, १२ मंसिरमा युएई
नेपाली टोली
रुबिना क्षत्री (कप्तान), डली भट्ट, सीता रानामगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई
वैकल्पिक खेलाडी : सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी