राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् गठन

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग मुख्यमन्त्री राई । तस्बिर : मनोज दाहाल/रासस
प्रदेश १ मा एकीकृत समाजवादीका राजेन्द्र राई गठबन्धन सरकारको मुख्यमन्त्री बनेका छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मञ्चको समर्थनमा राई मंगलबार मुख्मयन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्रीमा नियुक्त गरेपछि पद तथा गोपनीयताको शपथ लिएका राईले मंगलबारै राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । कांग्रेसका दुई तथा माओवादी र जसपाका एक–एक मन्त्री नियुक्त गरेका छन् । संघीय लोकतान्त्रिक मञ्चबाट एक राज्यमन्त्री बनाएका छन् ।
कांग्रेसका केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री बनेका छन् । माओवादीका इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मा पाएका छन् । त्यस्तै जसपाका जयराम यादव सामाजिक विकासमन्त्री नियुक्त भएका छन् भने मञ्चकी विष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री बनेकी छिन् ।
शाहीले शपथ लिए, मन्त्रिपरिषद् गठन भएन

सुर्खेत/ कांग्रेस नेता जीवनबहादुर शाही कर्णालीका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीबाट शपथ लिए मंगलबार नै उनले पदभार ग्रहण गरेका छन् ।
शपथग्रहणलगत्तै नवनियुक्त मुख्यमन्त्री शाहीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका थिए । तर, गठबन्धनमा रहेका दलहरूबीच मन्त्रालय बाँडफाँडमा सहमति भइनसकेका कारण मन्त्रिपरिषद् भने विस्तार हुन सकेन । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कति–कति र कुन–कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन ।
मुख्यमन्त्री महेन्द्र शाहीले सोमबार राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाहीले मंगलबार दिउँसो प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । उनलाई कांग्रेससँगै माओवादी र एकीकृत समाजवादीका गरी २१ सांसदको समर्थन छ ।