सडकको खाल्डो पुर्ने दायित्व पाँचवटा कार्यालयको, आठ दिनसम्म पुरिएन बानेश्वरको खाल्डो

मंगलबार, १६ कार्तिक, २०७८
डिजिटल संस्करण

उपत्यकाको मुख्य सडक नयाँ बानेश्वरस्थित सडकको बीचमा ठूलो खाल्डो परेको आठ दिन बितिसक्यो। सहरको मध्यभागमा पर्ने यस सडकखण्डको खाल्डो हरेक दिन ओहोरदोहोर गर्ने सहरवासीले नियाल्छन्। एयरपोर्ट हुँदै आएका विदेशी पाहुनाका आँखा यही खाल्डोमै पर्छन्। खाल्डोकै कारण सवारीसाधन ओहोरदोहोरमा उस्तै समस्या छ। व्यवस्थापिका संसद् भवनको नजिकै र यातायात व्यवस्था विभागअगाडि परेको उक्त खाल्डो भएतिर सडक बन्द छ। साइड लेनको सहायताले जामको ठूलो सास्ती भने खेप्नुपरेको छैन।

सरकारी निकाय भने मुख्य सडकको बीचमा परेको खाल्डो पुर्ने सानो जिम्मेवारीबाट समेत पछि हटेका छन्। मंगाल भत्किएर कात्तिक ८ गते खाल्डो परेपछि दुई दिन त खाल्डो कसले पुर्ने भन्नेबारे अलमल भयो। सम्बन्धित सरकारी निकाय खाल्डो पुर्ने जिम्मेवारीबाट पन्छिए । मंगाल भत्किएर धसिएको सडक बनाउने जिम्मा काठमाडौं महानगर, सडक विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सडक डिभिजन कार्यालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लगायतको हो। यतिधेरै जिम्मेवार निकाय हुँदा पनि सामान्य खाल्डो पुर्न भने महाभारत भइरहेको छ।

हाल केयुकेएलले मंगाल बनाउने काम सकाउन थालेको छ। तर, मंगाल बनाएपछि सडक पुर्ने र कालोपत्र गर्ने जिम्मा आफूहरूको नभएको केयुकेएलका ढल सञ्चालन महाशाखा प्रमुख उज्ज्वल श्रेष्ठको दाबी छ। उनले आफूहरूको काम लगभग सकिन लागेको बताए। उनले भने, ‘अहिले कामदार पाउनै कठिन भएकाले थोरै कामदार लगाउँदा ढिलो भयो। हामीले मंगाल बनाइसकेपछि सडक कालोपत्रे गर्ने कार्य सडक विभागको हो।’

सडकको बीचभागमा पर्ने खाल्डो यत्तिका दिनसम्म पनि नपुर्नुमा सहरी विकाससम्बन्धी कार्यालयहरूको लापरबाही रहेको पूर्वाधारविद् सूर्यराज आचार्यले बताए। मुख्य सडकको खाल्डो पुर्न यत्तिका दिन नलाग्ने उनी बताउँछन्। ‘हाम्रो सहरी विकास संयन्त्र कति सक्रिय र जिम्मेवार छ भन्ने उदाहरण त्यही खाल्डो पुर्ने कार्यलाई हेरेर मूल्यांकन गर्न सकिन्छ,’ उनले भने, ‘सरकारी निकाय सडक र सहरको समस्याप्रति जिम्मेवार छैनन्।’ 

सडकको बीचमा झन्डै १५ फिट गहिरो खाल्डो परेको थियो। सडक विभागका सूचना अधिकारी शिवप्रसाद नेपालले मंगाल बनाउने कार्य विभागको नरहेको बताए। उनले अन्य काम सकेपछि कालोपत्रे सडक विभागले गर्न सक्ने बताए। ‘यति सानो काममा सडक विभाग नै किन चाहिन्थ्यो ? अन्य निकाय पनि छन्, तर अरूले नगरेपछि सडक विभागले बनाउँछ। त्यसको लागि हामीले कामदार खटाइसकेका छौँ,’ उनले भने।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले उक्त खाल्डो पुर्ने कार्य केयुकेएल र सडक समथर पारेर कालोपत्रे गर्ने काम सडक विभागको रहेको बताए। उनले भने, ‘उक्त ढल मर्मत केयुकेएलले गरिरहेको छ, सडक बनाउने काम सडक विभागले गर्छ,’ उनले भने।

सुझावित समाचार