एमाले उपाध्यक्ष भीम रावलले दशबुँदे सहमतिसँगै पार्टीमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि अध्यक्ष बनाउने सहमति भएको दाबी गरेका छन् । दशबुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदल संयोजकबाट पाँच दिनअघि बाहिरिएका रावलले आइतबार राजीनामापत्र सार्वजनिक गर्दै त्यस्तो दाबी गरेका हुन् ।‘दशबुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्नका लागि केन्द्रीय कमिटीमा दुईजना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो,’ रावलले राजीनामापत्रमा भनेका छन्, ‘यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुनुका साथै साउन ६ गते अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षका रूपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’
रावलले गत ५ कात्तिकको स्थायी समिति बैठकमा कार्यदलबाट राजीनामा घोषणा गरेका थिए । उनले लिखित रूपमा गत १० कात्तिकको बैठकमा राजीनामा पेस गरेका हुन् । राजीनामापत्र भने आइतबार सार्वजनिक गरेका हुन् । नेपाललाई पनि दोस्रो अध्यक्ष बनाएर पार्टी एकता जोगाउन तयार रहेको अध्यक्ष केपी ओलीले विभाजनअघिको केन्द्रीय कमिटीमा घोषणा गरेका थिए । तर, नेपालले आफूलाई दोस्रो अध्यक्ष स्वीकार्य नभएको भन्दै सार्वजनिक कार्यक्रममा अन्य नेताको नाम प्रस्ताव गरेका थिए । दशबुँदे सहमतिलगत्तै कार्यान्वयनका लागि ओली र नेपाललाई भेटाएर दुई अध्यक्षमा लैजाने सहमति निर्माणमा संलग्न नेताहरूको प्रयास असफल भएपछि एमाले विभाजित भएको थियो ।
सुदूरपश्चिममा दशबुँदे कार्यान्वयन भएन, अन्यमा पनि समस्या
रावलले राजीनामापत्रमा सुदूरपश्चिम प्रदेशसहित कतिपय जिल्लामा दशबुँदे कार्यान्वयन नभएको पनि उल्लेख गरेका छन् । ‘हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा अपानि–१२ को कार्यान्वयन भएको छैन, १ नम्बर प्रदेशका ताप्लेजुङ, सुनसरी, २ नम्बर प्रदेशका सर्लाही र बारा, बागमती प्रदेशका चितवन तथा काठमाडौं महानगरपालिकाअन्तर्गत कीर्तिपुर नगर कमिटीलगायतका स्थान, नेपाल उत्पीडित जातीय मुक्ति समाजलगायतका जनसंगठनहरूमा अपानि–१२ को कार्यान्वयनमा समस्या उत्पन्न भएको भनी कहीँबाट मौखिक र कहीँबाट लिखित गुनासा प्राप्त भएका छन्,’ रावलको राजीनामापत्रमा उल्लेख छ ।
पार्टी एकता कायम गर्न दशबुँदे सहमति कार्यान्वनय गर्दै दुईजना अध्यक्षको व्यवस्था गर्ने विषयमा पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच कुराकानी हुनुका साथै साउन ६ गते अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा त्यस्तो सहमति भएको थियो
भीम रावल
रावलले दशबुँदे सहमति कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाएर आफूलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी नदिइएकोसमेत दाबी गरेका छन् । ‘पार्टीको निर्णय र सहमतिको कार्यान्वयन गर्दा कुनै पनि किसिमले दोहोरो मापदण्ड अपनाउन मिल्दैन भन्ने स्थापित मान्यता हो । ०७५ साल जेठ २ गतेअघिको स्थितिमा पार्टी र जनसंगठनलाई फर्काउने र पार्टी एकीकरण हुँदा त्यहाँ हुनुभएका र नेकपा (एमाले) पुनर्जीवित भएपछि यही पार्टीमा रहनुभएका कमरेडहरूलाई दशबुँदे सहमतिको बुँदा नम्बर दुई र चारमा उल्लेख भएबमोजिम गर्नेमा कुनै विमति हुन सक्दैन ।
तर, कहीँ एकीकरणका वेला जसको जे जिम्मेवारी थियो सोही गर्ने भन्ने र कहीँ त्यसलाई नमान्ने कुरा पार्टी पद्धतिको दृष्टिकोणबाट नै गलत हुन्छ,’ रावलले भनेका छन्, ‘उदाहरणका लागि म स्वयं नेकपा (एमाले), सुदूरपश्चिम प्रदेश समन्वय कमिटी (जसलाई अपानि–१२ ले स्पष्ट रूपमा स्वीकार गरिसकेको छ) को संयोजक थिएँ । पछि पार्टी एकीकरण भएका वेला त्यस प्रदेशको इन्चार्ज थिएँ । मेरो हकमा ती दुवै प्रावधान लागू नहुने तर्क कसरी र केका आधारमा गर्न मिल्छ ? त्यसो गर्ने हो भने पार्टी अध्यक्ष कमरेडले पटक–पटक, विशेषतः पार्टीका बैठकहरू र भदौ ७ गते आफ्नै निवासमा, ‘पक्षपात गरिनेछैन’ भनी सबैका सामु गर्नुभएको वाचाविपरीत हुन्छ । त्यस्तो गर्दा पार्टीमा पुनः अविश्वास र मतभेद सिर्जना हुने मात्र होइन, नेतृत्वले भन्ने र दिने वचनको विश्वसनीयतामाथि नै प्रश्नचिह्न खडा हुन्छ ।’
