भारत आठ विकेटले पराजित

न्युजिल्यान्डसँग पराजित भएपछि भारतको सेमिफाइनलमा पुग्ने सम्भावना कमजोर

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

न्युजिल्यान्डले आइसिसी पुरुष टी–२० विश्वकपअन्तर्गत सुपर–१२ को समूह २ मा आइतबार भारतलाई आठ विकेटले पराजित गरेको छ । न्युजिल्यान्डले दुई खेलबाट दुई अंक जोड्दै सेमिफाइनलको आशा यथावत् नै राखेको छ । लगातार दोस्रो हारसँगै भारतको अन्तिम चारमा पुग्ने सम्भावना कमजोर बनेको छ । भारतले अहिलेसम्म अंक बटुलेको छैन । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

एकदिवसीय र टी–२० विश्वकपमा गरी भारत र न्युजिल्यान्डबीच १२ खेल भएका छन् । जसमा न्युन्जिल्यान्डले भारतलाई एकदिवसीयमा पाँच तथा टी–२० मा तीनपटक हराएको छ । टी–२० विश्वकपमा भारत न्युजिल्यान्डसँगको तीनवटै भेटमा हारको सामना गरेको छ । भारत र न्युजिल्यान्डले एकआपसमा प्रतिस्पर्धा गर्नुअघि आ–आफ्ना पहिलो खेल गुमाएका थिए । सेमिफाइनलको आशा बलियो बनाउन दुवैलाई जित आवश्यक थियो । टस हारी पहिलो ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय १० रनको न्युन योगफल खडा गरेको थियो । 

प्रत्युत्तरमा न्युजिल्यान्डले १४.३ ओभरमा दुई विकेट मात्र गुमाएर एक सय ११ रन जोड्यो । न्युजिल्यान्डको जितमा केन विलियम्सले ३१ बलमा तीन चौकाको सहयोगमा ३३ रनको योगदान दिए । डार्यल मिचेल र विलियम्सबीच दोस्रो विकेटका लागि ७२ रनको बलियो साझेदारी भएको थियो । मिचेल अर्धशतक बनाउन एक रनले चुके । जसप्रित बुमराहको ओभरमा आउट हुनुअघि मिचेलले ३५ बलमा चार चौका र एक छक्का प्रहार गरी सर्वाधिक ४९ रन जोडेका थिए । 

यसअघि पहिलो ब्याटिङ गरेको भारतले फास्टबलर ट्रेन्ट बोउल्टको घातक बलिङ सामना गर्न सकेन । बोउल्टले २० रनमा तीन महत्वपूर्ण विकेट लिएका थिए । भारतीय ब्याट्सम्यानले इनिङ्सको कुनै पनि समयमा गतिलो प्रदर्शन गर्न सकेनन् । सो इनिङ्समा हार्दिक पाण्ड्याले २३ रन तथा रवीन्द्र जडेजाले २६ रनको योगदान दिए । ओपनर लोकेश राहुलले १८ रन तथा रोहित शर्माले १४ रन जोडे । 

अफगानिस्तानको दोस्रो जित
अफगानिस्तानले आइसिसी टी–२० विश्वकपअन्तर्गत सुपर १२ मा दोस्रो जित निकालेको छ । समूह २ मा अफगानिस्तानले आइतबार नामिबियालाई ६२ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।  अबुधाबी रंगशालामा अफगानिस्तानले पहिलो ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । प्रत्युत्तरमा नामिबियाले २० ओभरमा नौ विकेट गुमाएर ९८ रन मात्र जोड्यो । 

सुझावित समाचार