सुदूरपश्चिममा कोरोना संक्रमण जोखिम बढ्दै

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ। पछिल्लो केही सातायताको यहाँको कोरोना सङ्क्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ।

गत असोज ३१ गतेदेखिको लगातार तीन दिनको वर्षा र चाडपर्वका वेला बाहिर रहेकाहरू गाउँ फर्किएपछि यहाँ संक्रमणको जोखिम बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए। उनले भने, ‘गाउँघरमा भिडभाड बढेको छ। परीक्षण हुन पाएको छैन। यसले जोखिम बढाएको छ।’ यसका साथै कात्तिक पहिलो साताको अविरल वर्षापछि विस्थापितहरू एकै ठाउँमा बसेकाले पनि जोखिम बढेको डा अवस्थीको भनाइ छ।

बेमौसमी वर्षाले गर्दा गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका छन्। उनीहरूको परीक्षण गरिएको छैन। परीक्षण गर्याे भने संक्रमणको अवस्था अझै बढ्ने आकलन गरिएको छ। पछिल्लो समय कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि परीक्षण नगर्ने गरेकाले पनि झनै जोखिम बढेको डा. अवस्थीले बताए। ‘लक्षण देखिएको तथा बिरामी भएको धेरै समयपछि उपचारका लागि आउने गर्दा संक्रमण बढ्दै गएको छ,’ उनले भने, ‘समयमै उपचारका लागि नआउँदा अकालमै ज्यान समेत गुमाउने गरेका छन्।’

पछिल्लो केही सातायता दिनहुँजसो संक्रमणका कारण मृत्यु हुने गरेको छ।  समयमै उपचारका लागि नआउँदा मृत्यु हुने दर बढेको जनाइएको छ। उनले कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिनासाथ हेलचेक्य्राइँ नगरी  समयमै उपचार गर्न आग्रह गरेका छन्।

हालसम्म ६०४ को मृत्यु, चार लाखको परीक्षण
सुदूरपश्चिम प्रदेशमा हालसम्म करिब चार लाख व्यक्तिको कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार तीन लाख ८४ हजार चारजनाको परीक्षण गरिएको छ। त्यसमध्ये ४७ हजार सात सय ३१ जनामा संक्रमण पुष्टि भइसकेको छ। हाल यस प्रदेशमा  एक सय ९८ सक्रिय  संक्रमित रहेका छन्। सोमध्ये ३७ संक्रमित संस्थागत आइसोलेसनमा बसिरहेका निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ। अन्य सबै होम आइसोलेसनमा बसिरहेका छन्। कोरोनाकै कारण यस प्रदेशमा ६ सय चारजनाको मृत्यु भइसेकेको छ।

प्रदेशभर संक्रमितका लागि भन्दै एक हजार सात सय ७२ आइसोलेसन बेड तयारी अवस्थामा रहेका छन्। यसका साथै प्रदेशका विभिन्न अस्पतालमा नाै सय ७७ बेड, भेन्टिलेटर ३५, आइसोलेसन बेड चार सय २१, एचडियू एक सय ३९, आइसियु ६९, कोभडि एचडियू बेड एक सय २६, कोभिड सघन उपचार कक्ष ५४ र कोभिड भेन्टिलेटर २१ रहेका छन्।

यस प्रदेशको भारतसँग सीमा जोडिएका पाँच नाकामा पनि परीक्षणको काम भइरहेको छ। बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट र जौलजीवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा परीक्षणको काम भइरहेको छ।  भारतबाट भित्रिनेको अनिवार्य रूपमा यी नाकामा परीक्षण भइरहेको छ।

सुझावित समाचार