एउटै बैठक पनि सहज ढंगले नबसी सकियो संसद् अधिवेशन

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण

एमालेले हरेक बैठकमा अवरोध पुर्‍याउँदा सांसदहरूले अधिवेशन अवधिभर बोल्नसमेत पाएनन्, सरकार फेरिए पनि संसद्प्रतिको व्यवहार फेरिएन

प्रतिनिधिसभाको नवौँ र राष्ट्रिय सभाको दशौँ अधिवेशन शुक्रबारबाट सकियो । तर, यसपटक दुवै सदनको कुनै पनि बैठक सहज ढंगले चल्न सकेन । एमालेले हरेक बैठकमा अवरोध पुर्‍याउँदा सांसदहरूले अधिवेशन अवधिभर बोल्नसमेत पाएनन् ।

विशाल भट्टराई, प्रमुख सचेतक, एमाले

संसद् अधिवेशनको सुरुवातदेखि नै राम्रो लक्षण थिएन । आफ्ना खास मक्सद पूरा गर्न डाकिएको थियो । एमालेले ल्याएको बजेट असफल गराएर अर्काे बजेट ल्याउनु थियो उहाँहरूलाई । त्यो पूरा भयो । अरू थोक उहाँहरूलाई चाहिएको थिएन । 

विगतमा पनि वेलावेला दलहरूले सदनमा अवरोध पुर्‍याउँथे । तर, दुई–चार दिन बितेपछि वातावरण सहज हुन्थ्यो । यसपटक त्यस्तो भएन । दलको अवरोधले पूरा अधिवेशन प्रभावित भएको यो संसद्मा पहिलो उदाहरण बन्यो ।

१४ जना सांसद कारबाही प्रकरणमा सभामुखले आफूहरूमाथि भेदभाव गरेको एमालेको ठहर थियो । अधिवेशन सञ्चालनको पहिलो बैठक (२३ भदौ) मा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको आचरणमाथि प्रश्न उठाउँदै सदन अवरोध गर्न बाध्य हुनुपरेको बताएका थिए । सभामुखको काममा विमति जनाएको एमालेले त्यसपछिका हरेक बैठकमा ‘वेल’ घेर्‍यो । उनीहरू ‘संवैधानिक सर्वाेच्चता कायम गर’, ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, ‘पार्टी फुटाउने षड्यन्त्र बन्द गर’, ‘गैरसांसदलाई प्रवेश बन्द गर’, ‘यथास्थितिमा संसद् चल्न सक्दैन’ भन्दै नारा लगाउँथे । संसद्बाट बजेट पास भएपछि उनीहरूले ‘कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन’ भन्नेजस्ता नारा पनि थपे ।

अवरोधकै बीच एकपटक प्रतिनिधिसभामा तनाव सिर्जना भयो । २५ भदौको बैठकमा एमाले सांसदहरू र मर्‍यादापालकबीच घम्साघम्सी नै पर्‍यो । त्यसक्रममा संसद्को एउटा टेबुलसमेत भाँचियो । त्यस दिन आफ्ना सांसदहरूको व्यवहारप्रति एमाले अध्यक्ष केपी ओली स्वयंले असन्तुष्टि व्यक्त गरे । २७ भदौको एमाले संसदीय दलको बैठकमा उनले सांसदहरूलाई विरोध गर्दा संयमता नगुमाउन निर्देशन दिए । त्यसपछिका बैठकहरूमा एमाले अलि संयम देखियो ।

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार
नियमित अवरोध पुगेपछि संसद् सञ्चालनबारे छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले एमालेसहितको सर्वदलीय बैठक पनि बोलाएका थिए । २८ भदौमा संसद् भवन बानेश्वरमा आयोजित बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी, नेमकिपा उपस्थिति भए, तर एमाले गएन । सभामुखले आफूहरूसँग छुट्टै संवाद गर्नुपर्ने एमालेको अडान थियो । तर, सभामुख र एमालेबीच छुट्टै संवाद नभई अधिवेशन सकियो ।

पुष्पा भुसाल, सचेतक, कांग्रेस

बजेट राष्ट्रिय आवश्यकता भएकाले जसरी पनि पास गर्नुपथ्र्याे । अरू पनि थुप्रै विधेयक जो मानिसका जनजीवन र संघीयतासँग जोडिएका थिए । अवरोध हुँदै गर्दा जबर्जस्ती अघि बढाउन सरकारले चाहेन । अन्य महत्वपूर्ण विषयमा छलफल गर्न जरुरी थियो । तर, एमालेले सदन चल्नै दिएन । 
 

यो अधिवेशन सन्तोषजनक नरहेको एमालेका प्रमुख सचेतक भट्टराई बताउँछन् । ‘संसद् अधिवेशनको सुरुवातदेखि नै राम्रो लक्षण थिएन । आफ्ना खास मक्सद पूरा गर्न डाकिएको थियो । एमालेले ल्याएको बजेट असफल गराएर अर्काे बजेट ल्याउनु थियो उहाँहरूलाई । त्यो पूरा भयो । अरू थोक उहाँहरूलाई चाहिएको थिएन,’ भट्टराईले भने । अब नयाँ अधिवेशन सञ्चालनपूर्व पर्याप्त छलफल हुनुपर्ने उनी बताउँछन् । ‘यो अधिवेशन राम्रो रहेन । अर्काे अधिवेशनसम्ममा यो डेडलकको समाधान खोज्नेतर्फ सरकार र सभामुख जाने अपेक्षा छ हाम्रो,’ भट्टराईले भने ।

प्रमुख प्रतिपक्षी दल एमाले जिम्मेवार नभएको आरोप लगाउँछिन्, कांग्रेस सचेतक पुष्पा भुसाल । ‘बजेट राष्ट्रिय आवश्यकता भएकाले जसरी पनि पास गर्नुपथ्र्याे । अरू पनि थुप्रै विधेयक जो मानिसका जनजीवन र संघीयतासँग जोडिएका थिए, ती पनि सदनमा थिए । अवरोध हुँदै गर्दा जबर्जस्ती अघि बढाउन सरकारले चाहेन । अन्य महत्वपूर्ण विषयमा छलफल गर्न जरुरी थियो । तर, एमालेले सदन चल्नै दिएन । यसको सम्पूर्ण जिम्मेवार एमाले हो,’ उनले भनिन् ।

लोसपा सांसद लक्ष्मणलाल कर्ण अहिले संसद्को मर्यादामा आघात पुगेको बताउँछन् । ‘संसद्मा एमालेले प्रतिरोध गरेको छ । संवाद हुन जरुरी छ । तर, त्यो भएन । संसद्मा धेरै विधेयक छन्, ती पनि अघि बढेको छैन । संसद्लाई कसरी चलाउने भन्नेबारे कसैमा चिन्ता देखिँदैन । अहिले विधायिकाको प्रतिष्ठामा आँच आएको छ । मर्यादामा आघात पुगेको छ,’ उनले भने ।

विधेयकमाथि काम भएन
संसद्मा ५५ वटा विधेयक प्रक्रियामा थिए । तर, ती विधेयक अघि बढेनन् । प्रतिनिधिसभाले बजेटबाहेक अन्य विधेयक छलफलसमेत गरेन । अत्यन्तै चासोका साथ हेरिएको नागरिकता विधेयक पास गर्न पनि यसपटक प्रयास भएन । राज्य व्यवस्था तथा सुशासन समितिले ७ असार ०७७ मै पास गरेर यसलाई सदनमा पुर्‍याएको थियो । १६ महिनादेखि विधेयक सदनमै छ ।

लक्ष्मणलाल कर्ण, सांसद, लोसपा 

संसद्मा एमालेले प्रतिरोध गरेको छ । संवाद हुन जरुरी छ । तर, त्यो भएन । संसद्मा धेरै विधेयक छन्, ती पनि अघि बढेका छैनन् । संसद्लाई कसरी चलाउने भन्नेबारे कसैमा चिन्ता देखिँदैन । अहिले विधायिकाको प्रतिष्ठामा आँच आएको छ । मर्यादामा आघात पुगेको छ । 
 

सदनमा रहेका केहीकेही विधेयक समितिमा पठाउनेबाहेक राष्ट्रिय सभाले पनि विधेयकमाथि उल्लेख्य काम गर्न सकेन । दुई विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सार्वजनिक सेवा प्रसारण विधेयक सदनबाट विधायन समिति पुग्यो । विधेयकमाथि ठोस काम भएन । तर, सरकारले संसद्मा रहेका संघीय निजामती सेवा, रेल्वे, फौजदारी कसुर र यौनहिंसासम्बन्धी विधेयक फिर्ता लियो । यसमध्ये संघीय निमामती सेवा विधेयक राज्य व्यवस्था समितिले पास गरेर सदनमा पठाइसकेको थियो । रेल्वे विधेयक राष्ट्रिय सभाबाट पास भएर प्रतिनिधिसभामा आइपुगेको थियो । अर्कातिर, फौजदारी कसुर र यौनहिंसासम्बन्धी विधेयक सरकारले यही अधिवेशनमा ल्याएको थियो । र, विधेयक ल्याएको केही समयमै फिर्ता लिएको हो । 

अवरोधकैबीच बजेट पारित
संसद् बैठक सहजसँग सञ्चालन हुन नपाए पनि बजेटसम्बन्धी विधेयकहरू पारित भयो । सरकारले २५ भदौको बैठकमा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक ल्याएको थियो । एमालेको नाराबाजी चलिरहँदा पनि सभामुख सापकोटाले बजेटका तीनवटै विधेयक (विनियोजन, राष्ट्र ऋण उठाउने र आर्थिक) प्रक्रियामा लगेका थिए । प्रतिनिधिसभाको ४ असोजको बैठकले विनियोजन विधेयक पारित गरेको थियो । ७ असोजको बैठकले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पनि पारित गरेको थियो ।

प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक ५ असोजमा राष्ट्रिय सभामा टेबुल भई ७ असोजको बैठकले पारित गरेको थियो । ८ असोजको राष्ट्रियसभामा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पनि टेबुल भएको थियो । ११ असोजको बैठकले त्यसलाई पारित गर्‍यो । यसरी अवरोधकैबीच संसद्बाट पारित भएर बजेटसम्बन्धी तीनवटै विधेयक प्रमाणीकरणमा पुगेका थिए ।

सरकार फेरियो, चरित्र फेरिएन
सर्वाेच्च अदालतले २८ असार ०७८ मा प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि ३ साउनमा संसद् अधिवेशन सञ्चालनमा आयो । दोस्रोपटकको प्रतिनिधिसभा पुनस्र्थापनासँगै एमाले अध्यक्ष केपी ओली हटेर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । तर, सरकार फेरिए पनि संसद्प्रतिको व्यवहार फेरिएन ।

तत्कालीन प्रधानमन्त्री ओलीले संसद्लाई आफूअनुकूल प्रयोग गरेका थिए । संसद्मा रहेका विधेयकहरू अघि नबढाएर उनले बारम्बार अध्यादेश ल्याएका थिए । उनी संसद् अधिवेशन लामो समयसम्म बोलाउँदैन थिए । त्यति मात्र होइन, उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेका थिए । नयाँ आएका प्रधानमन्त्री देउवाले पनि संसद्लाई आफूअनुकूल प्रयोग गर्न थालेका छन् । उनले पनि संसद् अधिवेशन बन्द गरेर अध्यादेश ल्याएका छन् । 

See More On

सुझावित समाचार