साहुकार रामबाबुलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालतको आदेश

आइतबार, १४ कार्तिक, २०७८
डिजिटल संस्करण
साहुकार रामबाबुलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालतको आदेश

रामबाबु राय यादव

लाख ऋण दिएर करोड असुल्ने सर्लाही बरहथवा–१० सीतापुरका रामबाबु राय यादवलाई उच्च अदालत जनकपुरले पुपक्र्षका लागि थुना राख्ने आदेश गरेको छ । २७ माघ ०७६ मा जिल्ला अदालत सर्लाहीले गरेको आदेशलाई बदर गर्दै उच्चले शुक्रबार यस्तो आदेश गरेको हो ।

चन्द्र सञ्जेल, सहायकन्यायाधिवक्ता, उच्च सरकारी वकिल कार्यालय जनकपुर

जिल्ला अदालत सर्लाहीले दुई वर्षअघि १५ लाख रुपैयाँ धरौटी तिरेर रामबाबुलाई छाड्ने आदेश गरेको रहेछ । उक्त आदेश बदर गरिपाऊँ भन्दै पीडित उच्च आए । सोही निवेदनमा शुक्रबार बहसपछि उच्चले जिल्लाको आदेश बदर गर्ने निर्णय गरेको हो ।
 

जिल्ला अदालतले दुई वर्षअघि १५ लाख रुपैयाँ धरौटी रकम तिरेर यादवलाई जेलमुक्त गर्ने आदेश गरेको थियो । जिल्लाको आदेश पुनरावलोकन गरिपाऊँ भन्दै पीडित उच्च अदालत जनकपुर पुगेका थिए । उच्चका न्यायाधीश विनोद शर्मा र रमेश ढकालको संयुक्त इजलासले दुई वर्षअघि जिल्लाले गरेको आदेशलाई बदर गर्ने निर्णय गरेको हो ।

उच्च सरकारी वकिल कार्यालय जनकपुरका सहायकन्यायाधिवक्ता चन्द्र सञ्जेलले जिल्ला अदालत सर्लाहीले गरेको आदेश बदर गर्ने निर्णय गरेको बताए । ‘जिल्ला अदालत सर्लाहीले दुई वर्षअघि १५ लाख रुपैयाँ धरौटी तिरेर रामबाबुलाई छाड्ने आदेश गरेको रहेछ । उक्त आदेश बदर गरिपाऊँ भन्दै पीडित उच्च आए । सोही निवेदनमा शुक्रबार बहसपछि उच्चले जिल्लाको आदेश बदर गर्ने निर्णय गरेको हो,’ उनले भने ।

रामबाबु सर्लाहीका खुंखार साहुकर हुन् । लाख रुपैयाँ ऋण दिएर उनी करोड रुपैयाँ असुल्थे । उनकै कारण सर्लाही, धनुषा, महोत्तरी, सिरहाका १५ सयभन्दा धेरै स्थानीय सुकुमबासी बन्न पुगेका छन् । यो विषयमा नयाँ पत्रिकाले दुई वर्षअघि समाचार प्रकाशन गरेको थियो । समाचारको प्रभावपछि प्रहरीले साहुकार रामबाबुलाई २४ पुस ०७६ मा सर्लाहीको हरिपुरबाट पक्राउ गरेको थियो । उनी त्यसवेला भेष बदलेर भारतको बिहारतर्फ भाग्दै थिए ।

साहुकार रामबाबुविरुद्ध २० करोड ४२ लाख ८० हजार ९५ रुपैयाँ ठगी गरेको भन्दै रामनाथ रायसहित २८ पीडितको जाहेरी छ । रामबाबु पक्राउ परेलगत्तै तत्कालीन राष्ट्रिय जनता पार्टीका स्थानीय कार्यकर्ताले विरोध गरेका थिए । पछि जिल्ला अदालत सर्लाहीले १५ लाख धरौटी रकम बुझाएर रामबाबुलाई हिरासतमुक्त गर्ने आदेश गरेको थियो । सोही आदेशपछि रामबाबु गाउँमै बस्दै आएका छन् । र, उनले आफ्नो पुरानो धन्दासमेत चालू राखेका छन् । 

पाँच अर्ब ऋण दिएको कागज बनाउने साहुकार रौनियार अझै पक्राउ परेनन्
सर्लाहीकै अर्का साहुकार हुन् सञ्जय रौनियार । उनले पनि सर्लाही, महोत्तरी, धनुषा, सिरहा, रौतहटलगायतका हजारजनाभन्दा धेरैलाई पाँच अर्बभन्दा बढी ऋण दिएको कागज गराएर सुकुमबासी बनाएका छन् । तर, उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन । भारतको बिहारस्थित सीतामाढीमा उनको तीनतारे होटेल छ । उनी सोही होटेलमा बस्दै आएका छन् । भारत र नेपाली दुवै नागरिकता बनाएका उनी पटकपटक नेपाल आउने गर्छन् ।

आसामी उठाउँछन् । अनि सीतामाढी फर्कन्छन् । उनीविरुद्ध दुई वर्षअघि नै सर्लाहीका स्थानीयले प्रहरीमा जाहेरी दिएका थिए । त्यसलगत्तै उनी फरार भएका हुन् । उनले सर्वसाधारणलाई ऋण दिएर उनीहरूको जग्गा नै हडप्ने गरेका थिए । रौनियार ०७४ को निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीका तर्फबाट सर्लाही २ (क)मा उम्मेदवार थिए ।

सुझावित समाचार