नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको वेला जनता मारमा पार्ने गरी मूल्य वृद्धि गरेको भन्दै सरकारको आलोचना गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले जनतालाई राहत दिने बेलामा ग्यास, पेट्रोल, डिजेलसहितका दैनिक उपभोग्य बस्तुहरूको मूल्य वृद्धि गरेको उल्लेख गर्दै तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा जाने बेलामा मूल्य वृद्धि गराएर आफ्नै पार्टी नेतृत्वको सरकारले जनतालाई जवाफ दिन सक्ने अवस्थासमेत नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले भने, ‘दसैँ भर्खर सकियो, तिहार आउँदै छ। छठ पर्व छ। काम के त भन्दा अहिले ग्यासको मूल्य बढायो। डिजेलको प्राइस हाई गरायो। यो सरकारले गरेका हरेक कामको आउने चुनावमा त हामीले जवाफ दिनुपर्ने हुन्छ नि त। के योचाहिँ राम्रो भयो त ? जनतालाई राहत दिने ठाउँमा जनतालाई मुस्किल हुने कामहरू त गर्नु भएन नि। यो सरकारले आयल निगमदेखि सबै ठाउँमा मार्केटलाई कन्ट्रोल गर्नका लागि जुन मन्त्रालय छ, मेकानिजम छ। ती सबै कुराहरूलाई त लागू गर्नु पर्याे नि त। आफूले गर्नुपर्ने काममा चाँिह वास्ता नगर्ने अनि त्यसको समाधान के हो त? जनतालाई मार पार्ने गरी जुन यो मूल्यवृद्धि गरेको छ। यो चाँही बिल्कूल डेमोक्र्याटिक पार्टीको लिडरसिपमा भएको सरकारले गर्न नमिल्ने काम गरेको छ। यसमा चाहिँ सरकारले आफ्नो ध्यान दिन जरुरी छ भन्ने मलाई लागेको छ।’
नेता सिंहले सरकारले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने, जनतालाई राहत दिने काममा विशेष ध्यान दिन जरुरी रहेको पनि बताए। उनले पार्टीको आसन्न १४औँ महाधिवेशनमा पुरानै नेतृत्वलाई निरन्तरता दिएर पार्टीलाई झनै कमजोर बनाउने गल्ती नगर्न नेता, कार्यकर्तालाई आग्रहसमेत गरे ।