काबुबाहिरको अवस्थामा बाहेक अब कांग्रेस महाधिवेशनको मिति सर्दैन : महादेवप्रसाद यादव (अन्तर्वार्ता)

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले ३० दिनभित्र सम्पन्न गर्ने गरी १४औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिकामा अवरुद्ध अधिवेशन प्रक्रिया कात्तिक २७ बाट सुरु गर्ने र केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ मा सम्पन्न गर्ने उल्लेख छ। समितिले बुधबार तयार भएको कार्यतालिकामा संशोधन गरी पारित गरेको हो। 
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवसँग नयाँ पत्रिकाकर्मी केशवप्रसाद पाण्डेले गरेको कुराकानी :

३० दिनको छोटो अवधिमा महाधिवेशन सक्ने गरी नयाँ कार्यतालिका आएको छ। यसअघि पनि पटकपटक महाधिवेशनको मिति परिवर्तन गर्नुपरेको थियो। यो अवधिमा महाधिवेशन सम्पन्न गर्न सम्भव छ ?

बुधबार तयार भएकै कार्यतालिकामा केन्द्रीय महाधिवेशनको मिति परिवर्तन गरेर सार्वजनिक गरिएको हो। अहिले तयार भएको कार्यतालिकाभित्रै महाधिवेशन हुन्छ। काबुभन्दा बाहिरको परिस्थितिमा बाहेक अब महाधिवेशनको कार्यतालिका तलमाथि हुँदैन। 

कार्यतालिकालाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउनुपर्छ कि पर्दैन ?
अहिलेको कार्यतालिकालाई केन्द्रीय कार्यसमितिबाट पारित गरिरहनुपर्दैन। निर्वाचन समिति स्वतन्त्र निकाय हो। यसअघि नै निर्वाचन समितिलाई निर्णय गरेर दिइसकेपछि पटकपटक कार्यसमितिमा गइराख्नुपर्दैन।

अझै पनि क्रियाशील सदस्यता टुंगो लाग्न बाँकी नै छ। यसअघि सदस्यताकै कारण कार्यतालिका प्रभावित बनेको थियो। अहिले त्यो सम्भावना छैन र ?
दुई जिल्लाको दुईवटा वडामा सानो समस्या देखिएको हो। त्यस्तो समस्या देखिएमा जहाँ समस्या देखिन्छ, त्यहाँ रोक्ने भन्ने भइसकेको छ। साथीहरूको गुनासो आउनु स्वाभाविक नै हो। त्यो खासै ठूलो समस्या होइन। जिल्लाभरिको समस्या होइन। जहाँ समस्या हुन्छ त्यहाँ नीतिगत हिसाबले स्थगित गर्ने  भन्ने भइसकेको छ। अब समस्या आउँदैन। जस्तो नुवाकोटकै एउटा वडामा चुनाव हुन सकेन, तर त्यहाँ नगरपालिकाको चुनाव भइसकेको छ। अब रोकिने सम्भावना छैन।

यसअघि आयोगलाई भदौ १८ बाट महाधिवेशन प्रक्रिया सुरु भएको जानकारी गराएर संवैधानिक संकटलाई  टारिएको थियो। परिवर्तित तालिकाबारे निर्वाचन आयोगलाई जानकारी गराउनुपर्छ कि पर्दैन ?  
जानकारी गराउनुपर्दैन। हाम्रो सरोकारको विषय नै होइन नि। काेही–कसैलाई जानकारी गराइराख्नुपर्दैन। हामीले सुरुमा भदौ १८ गतेबाट हाम्रो  चुनाव प्रारम्भ भयो भनेर  जानकारी पठाइसक्यौँ। बीचका तिथिमिति, समय र परिस्थितिअनुसार फ्लेक्जिबल हुन्छ नै। त्यो पार्टीको आन्तरिक कुरा हो। त्यसमा निर्वाचन आयोगलाई जानकारी गराउनुपर्ने आवश्यकता रहँदैन।

यसपछि पनि कार्यतालिका संशोधनको सम्भावना कत्तिको छ ?
त्यो त छँदै छैन। यो अन्तिम नै हो। हामीले सबै अवस्थालाई आकलन गरेर छठपछि निर्वाचन प्रभावित नहुने गरी कार्यतालिका तयार गरेका छौँ। अब कार्यतालिकामा कुनै हेरफेर हुँदैन। काबुबाहिरको परिस्थिति उत्पन्न भएर महाप्रलयको अवस्थामा बाहेक अब महाधिवेशन रोकिँदैन।

सुझावित समाचार