सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचनमा जानु जरुरी नभएको बताएका छन्। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले अर्ली इलेक्सन गर्नु आवश्यक नरहेको स्पष्ट पारेका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले स्थानीय, प्रदेश र संघीय चुनाव एकैपटक गर्नुपर्नेमा समेत जोड दिएका छन्।
अध्यक्ष नेपालले भने, ‘किन अर्लीमा जानु ? अर्लीमा जानु जरुरी छैन। मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला, कानुनी जटिलता छ कि छैन थाहा छैन। पाँच दलमा छलफल भएको पनि छैन। तर, मलाई लागेकोचाहिँ सबै चुनाव एकैपटक गराउनुपर्छ भन्ने हो।’ निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागि समेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुनेमा उनले जोड दिए।
माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको उल्लेख गर्दै अध्यक्ष नेपालले एमालेमा फर्किने कुरा कल्पनासमेत नगरिएको बताए। अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको उनले जिकिर गरे। रासस