सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र फुटबल क्लबले नयाँ सिजनका लागि स्टार खेलाडी भित्र्याउने क्रमलाई जारी राखेको छ । यसैक्रममा मच्छिन्द्रले बिहीबार डिफेन्डर छिरिङ गुरुङलाई अनुबन्ध गरेको छ । २३ वर्षीय छिरिङले अघिल्लो सिजन च्यासल युथ क्लबबाट लिग खेलेका थिए । यसपटक भने छिरिङले मच्छिन्द्रसँग एक वर्षको सम्झौता गरेका हुन् ।
छोटो समयमै छिरिङले युवादेखि सिनियर राष्ट्रिय टोलीसम्म स्थान बनाइसकेका छन् । गत चैतमा काठमाडौंमै सम्पन्न थ्री नेसन्स कपमा उनले राष्ट्रिय टोलीबाट डेब्युको अवसर पाएका थिए । सो प्रतियोगितामा नेपाल विजेता बनेको थियो । घरेलु फुटबलमा राम्रो छाप राखेका छिरिङले जेठमा सम्पन्न पहिलो संस्करणको नेपाल सुपर लिग उनले काठमाडौं रेजर्सबाट खेलेका थिए । काठमाडौंले एनएसएलको उपाधि जितेको थियो ।
यसै साता मात्र मच्छिन्द्रले युवा खेलाडी विमल घर्तीमगरसँग सम्झौता नवीकरण गरेको थियो । मच्छिन्द्रले विदेशी कोटामा अजरबैजानको उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेका नुर्लान नोभ्रुजोभ र डिफेन्डर सादिक गुलिभलाई पनि अनुबन्ध गरिसकेको छ । मच्छिन्द्रमा राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडी भरिएका छन् ।