अफगानिस्तानमा आधा जनसंख्या भोकमरीको चपेटामा

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघीय सहायता एजेन्सीहरूले अफगानिस्तानको आधा जनसंख्या भोकमरीमा पर्ने प्रक्षेपण गरेका छन् । आगामी महिनादेखि दुई करोड २८ लाख जनसंख्या खाद्य अभावका कारण भोकमरीको चपेटामा पर्ने एजेन्सीहरूको भनाइ छ।

राष्ट्रसंघीय निकायहरूको समन्वयमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले सोमबार अबेर सार्वजनिक गरेको प्रतिवेदनअनुसार खडेरी, कोभिड– १९ महामारी, आन्तरिक द्वन्द्व  तथा आर्थिक संकटले जनजीवन नराम्ररी प्रभावित भएका कारण अफगानिस्तान भोकमरीको चपेटामा छ ।  प्रतिवेदनले जाडो बढ्दै गएको, सहर र ग्रामीण क्षेत्रमा यातायात विच्छेद भएको तथा धेरै विस्थापित परिवार मानवीय सहायतामा मात्रै निर्भर रहनुपर्ने भएका कारण भोकमरीको डरलाग्दो अवस्था सिर्जना हुन लागेको औँल्याएको छ। प्रतिवेदनमा हरेक दुईजना व्यक्तिमध्ये एकजना खाद्य संकटको अवस्थामा रहेको औँल्याइएको छ।

कम्तीमा नोभेम्बरदेखि आगामी वर्षको मार्चसम्म यो अवस्था रहने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार अफगानिस्तानमा खाद्यान्नको आधारभूत परिपूर्तिका लागि मानवीय हस्तक्षेप जरुरी रहेको छ। अफगानिस्तानमा दश वर्षयताकै सबैभन्दा भोकमरीको स्थिति देखिएको हो।
 
‘हिउँदमा हिमाली क्षेत्रका विभिन्न भागमा हिउँ परेर यातायात र आवतजावत ठप्प हुनुअघि नै खाद्यान्न आपूर्ति युद्धस्तरमा गरिएन भने परिस्थिति भयावह हुने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ। मानवीय सहायता एजेन्सीहरूले धेरै पर्खिन नसकिने पनि उल्लेख गरेका छन् । अफगानिस्तानमा लाखौँ नागरिक सहरी क्षेत्रभन्दा बाहिर बस्छन् भने हिउँदमा आवतजावत ठप्प हुने गरेको छ।

द्वन्द्वका कारण अफगानिस्तानमा खाद्य सुरक्षाको अवस्था शून्य रहेको पनि विश्व खाद्य कार्यक्रमले जनाएको छ। ‘अहिले पनि भोकमरी बढिरहेको छ। खानाको अभावले बालबालिकाहरूको मृत्य भइरहेको छ,’ डब्लुएफपीले भनेको छ, ‘भोकमरीको अवस्था ३७ प्रतिशतले बढेको छ। यो धेरै नै चिन्ताजनक अवस्था हो।’

सुझावित समाचार