एक महिनापछि तोकिएको दसौँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै संसद्को ठूलो दल एमालेले स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको विषयलाई प्राथमिकता दिएको छ ।
६ हजार सात सय ४३ मध्ये शनिबार करिब ६ हजार वडा अधिवेशन सम्पन्न गरेको एमालेले मंगलबार सात सय ५३ पालिकामा अधिवेशन गर्दै छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले देशभर करिब ६ हजार वडाहरूको अधिवेशन सम्पन्न भएकोमा अहिलेसम्म निर्वाचनबाट नेतृत्व चयन भएको जानकारी प्राप्त नभएको बताए । आगामी १० देखि १२ मंसिरमा चितवनमा एमालेले दसौँ महाधिवेशन आयोजना गर्दै छ ।
‘अहिलेसम्म एउटा पनि वडामा निर्वाचनबाट नेतृत्व चयन भएको केन्द्रीय कार्यालयलाई जानकारी प्राप्त भएको छैन,’ तामाङले नयाँ पत्रिकासँग भने, ‘एकैदिन करिब ६ हजार वडाहरूमा सौहार्दपूर्ण ढंगले अधिवेशन सम्पन्न गर्ने सम्भवतः हामी नै पहिलो दल हौँ, अहिलेसम्म कहीँ कतै विवाद भएर रोकिएको या निर्वाचनबाट नेतृत्व चयन भएको जानकारी प्राप्त भएको छैन ।’ उनले पालिका अधिवेशन पनि सर्वसम्मत रूपमा सम्पन्न गर्न सर्कुलर पठाइएको बताए ।
‘नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत विधि अपनाउने र यदि सर्वसम्मत नभए मात्र निर्वाचन विधि अपनाउने,’ एमालेले स्थानीय तह अधिवेशनका लागि पठाएको सर्कुलरमा उल्लेख छ । भर्चुअल माध्यमबाट वडा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले पनि लोकतान्त्रिक विधिमा सबैभन्दा सर्वोत्तम विधि सर्वसम्मत नै भएकाले त्यसैलाई प्राथमिकता राखेर सकारात्मक सन्देश दिन कार्यकर्तालाई निर्देशन दिएका थिए । पालिका अधिवेशनमा पनि ओलीले भर्चुअल माध्यमबाटै सम्बोधन गर्दै छन् ।
भर्चुअल माध्यमबाट अध्यक्ष ओलीबाट उद्घाटित अधिवेशनमा देशभर पाँच लाख कार्यकर्ता सहभागी भएको उनले जानकारी दिए । तल्लो तहमा पार्टी विभाजनबाट अहिलेसम्म धेरै ठूलो क्षति नभएको जानकारी दिँदै उनले जिल्ला र प्रदेश कमिटीहरूले औसतमा दुई प्रतिशत संगठित सदस्य मात्र विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी गरे ।