सोलुखुम्बुको मेरापिक चढेर फर्किने क्रममा मौसम प्रतिकूल बनेपछि विदेशी पर्यटकसहित १० जना फसेका छन् । मंगलबार मेरापिक आरोहण गरी फर्किने क्रममा मौसमका कारण मेराला ओडार (५,७००) मिटरमा चारजना, हाइक्याम्प (५,८००) मिटरमा चारजना र बेसक्याम्प (५,३००) मिटरमा दुईजना आरोही फसेका हुन् ।
त्यसमध्ये मेरालामा फसेका चारमध्ये एक ब्रिटिस नागरिक स्टु सियनसहित सोलुखुम्बुका आरोही गाइडहरू पासाङ छिरिङ, छेतेन शेर्पा र पासाङ शेर्पा रहेका छन् । त्यस्तै, हाइक्याम्पमा एक विदेशी पर्यटक, पूर्ण थापामगरसहित नाम नखुलेका दुईजना र बेसक्याम्पमा नाम नखुलेका थप दुईजना अलपत्र परेका छन् । उनीहरू निरन्तरको झरी र हिमपातका कारण मेरापिक क्षेत्रमा फसेका हुन् ।
उनीहरूको यथाशीघ्र उद्धारको आवश्यकता रहेको एडभेञ्चर भिक्टोरीका सञ्चालक लक्षण मिसन कार्कीले बताए । मौसम प्रतिकूलका बीच पनि उनीहरूको उद्धारका लागि खारे क्षेत्रबाट आरोही गाइडको टिम दुईपटक पठाए पनि हिउँ छिचोल्न नसकेर फर्किएका छन् । सञ्चालक कार्कीका अनुसार हाइक्याम्प र बेसक्याम्पमा रहेकासँग सञ्चित खानेकुरा रहेको, तर मेराला ओडारमा फसेकाहरूसँग कुनै पनि खानेकुरा छैन ।
उनीहरू मंगलबार दिउँसो ३ बजेदेखि सो क्षेत्रमा फसेका हुन् । मौसम प्रतिकूल रहेकाले हेलिकाेप्टरमार्फत तत्काल उद्धार गर्न नसकिरहेको खारे क्षेत्रका एक होटेल व्यवसायीले बताए । मौसम अनुकूल बन्ना साथ उनीहरूको उद्धार गरिने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए । उनीहरू एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत मेरापिक गएका हुन् ।