महाकाली नदीको सतह अहिलेसम्मकै उच्च

मंगलबार, २ कार्तिक, २०७८
डिजिटल संस्करण

गत आइतबारदेखि अविरल रूपमा परिरहेको वर्षाका कारण कञ्चनपुर बाढीको उच्च जोखिममा परेको छ । महाकाली नदीमा यस वर्षकै उच्च सतह वृद्धि भएसँगै कञ्चनपुर बाढीको उच्च जोखिममा परेको हो । 

मंगलबार बिहानको मापनअनुसार महाकाली नदीमा चार लाख ६१ हजार क्युसेक पानीको सतह पुगेको छ । यसअघि साढे तीन लाख मात्रै पुगेको थियो । अनपेक्षित रूपमा परेको वर्षाका कारण महाकाली नदी गाउँ पस्ने खतरा रहेको स्थानीय दिल्लीराज पन्तले बताए । उनका अनुसार भीमदत्त नगरपालिका– १२ ऐरी क्षेत्रमा निर्माण भएको महाकाली पहुँच मार्गसमेत कटानी भइरहेको छ ।

महाकाली नदी तटीय क्षेत्रका स्थानीयसमेत रहेका पन्तले यस्तै पानी अझै निरन्तर परिरहे महाकाली गाउँ नै बस्ने बताए । उता महाकाली नदीमा पानीको सतह वृद्धिसँगै वनबासा पुलमा समेत आवागमन बन्द गरिएको छ । दोधाराचाँदनीमा समेत महाकाली नदीमा जोगबुण नदी थुनिएर ९ र १० नम्बर वडामा पानी पसिरहेको छ । 

अविरल वर्षाका कारण कञ्चनपुरका किसानको धानखेती नष्ट हुनुका साथै साना तथा ठूला नदी तथा खोलामा पानीको सतह वृद्धिसँगै पानी गाउँ पसेको छ । महाकाली नदी क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । कञ्चनपुर प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

सुझावित समाचार