खेलकुदका गतिविधिमा व्यस्त रहने भरतपुर महानगरपालिका–२ नारायणगढको क्याम्पाचौरमा शुक्रबार फरक दृश्य देखियो। चौरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना भरिभराउ थिए। प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुख, भरतपुर महानगरका प्रमुख, उपप्रमुखलगायतका प्रतिनिधिहरू पनि सँगै थिए ।
महानगरपालिकाका विभिन्न इकाइदेखि उपस्थितहरूको कार्यकक्षसमेत बनाइएको थियो। स्वयंसेवक, रेडक्रस, स्काउट, उद्योगी, शिक्षक, विद्यार्थी, प्रहरी, महिला, गृहिणीसहित सञ्चार माध्यमहरूको पनि चौरमा उपस्थिति थियो। एम्बुलेन्स, शव वाहन र बारुण यन्त्र पनि चौरको एक कुनामा देखिन्थ्यो।
केहीबेरमा यही भिडबाट चौरमा हल्लाखल्ला हुन्छ– ‘भूकम्प आयो’, ‘भूकम्प आयो’। मान्छेहरू आत्तिन थाल्छन्, रूवाबासी चल्छ। सञ्चारमाध्यमहरू भूकम्प गएको समाचार सम्प्रेषण गर्छन्। भूकम्पले भत्किएका घरमा सुरक्षाकर्मी पुगेर उद्धार गर्छन्। घाइतेहरूलाई अस्पताल लगिन्छ। स्वयंसेवकहरू पनि सक्रिय हुन्छन्। ठाउँठाउँमा पहिरो खसेर अवरुद्ध बनेको सडक सञ्चालनमा ल्याउने प्रयास हुन्छ ।
घाइतेको उद्धार गर्न नपाउँदै फेरि अर्को विपत्ति आइपर्छ। त्यही वेला चौरको एकछेउको टहरोमा आगो लाग्छ। स्थानीयले आगो नियन्त्रणमा लिन सक्दैनन्। झन् झन् आगो फैलँदै जान्छ। महानगरपालिकाको बारुण यन्त्र र सुरक्षाकर्मीहरू आएर आगो नियन्त्रण गर्छन्। घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइन्छ। प्रशासन र स्थानीयले राहतका प्याकेज तयार पार्छन् ।
भूकम्प र आगलागीले पीडामा परेको गाउँमा किशोरीहरूलाई विदेशमा काम दिन्छौँ भन्दै अपरिचित मानिसहरू गाउँ आउन थाल्छन्। काम र पैसाको लोभ देखाएर केही युवती भारत बेच्न लगिन्छ। चेकजाँचका क्रममा उनीहरू सीमामै समातिन्छन् ।
भूकम्प, आगलागी, मानव बेचबिखनलगायतका यी दृश्यहरू वास्तविक भने होइनन् । सम्भावित जोखिम र क्षति कम गर्न युरोपियन युनियनको आर्थिक सहयोगमा भरतपुर महानगरपालिका, युएनडिपी, फरवार्ड नेपाललगायतका संस्थाले भूकम्प, आगलागी, सडक दुर्घटना तथा मानव बेचबिखनमा आधारित कृत्रिम घटना अभ्यासको प्रदर्शन थियो ।
नेपाल विभिन्न विपद्का दृष्टिले उच्च जोखिममा रहेका कारण यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न नागरिकस्तरमा सचेतनाका लागि यो कार्यक्रम आयोजना गरिएको भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन्। उनका अनुसार विपद् आइपर्दा त्यसको उचित तवरबाट सामना गर्ने र व्यवस्थापनमा खटिने जनशक्तिलाई यस्ता कार्यले सघाउने उनको विश्वास छ।
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कृत्रिम घटना अभ्यासले जोखिम आउँदा कसरी काम गर्ने भन्ने कुरा सिकाउने बताए। उनले भने, ‘भूकम्प, आगलागीजस्ता विपद्हरू कहिले कति वेला आउँछन् थाहा हुँदैन। कृत्रिम घटना अभ्यासले संयन्त्रलाई तयारीमा रहन सिकाउँछ ।’ उनका अनुसार जस्तोसुकै विपद् पर्दा सुरक्षा संंयन्त्रलाई ताजगी राख्न कृत्रिम घटना अभ्यास गरिएको हो ।

.jpg'_'.2021-10-09.jpg)