सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनअनुसार समयानुकूल सेवा परिमार्जन गर्न नसक्दा नेपालमा हुलाक सेवा संकटमा पर्दै गएको छ । पुरातन शैलीको सेवा र कार्यशैलीका कारण हुलाकका प्रयोगकर्ता हरेक वर्ष घट्दै गएका छन् ।
कुनै समय निकै लोकप्रिय रहेको हुलाकको ‘पोस्ट बक्स सेवा’ पछिल्लो दुई वर्षमा मात्रै करिब १० हजारले बन्द गराएका छन् । दुई वर्षअघि गोश्वारा हुलाक कार्यालय काठमाडौंमा करिब २० हजार प्रयोगकर्ताका पोस्ट बक्स थिए । अहिले आठ हजार प्रयोगकर्ताले मात्रै सेवा लिएका छन् । उपत्यकाबाहिर पनि कतिपय हुलाक कार्यालयमा पोस्ट बक्स सेवा भए पनि त्यो नगग्य मात्र प्रयोग भइरहेको हुलाक सेवा विभागले जनाएको छ ।
‘केही वर्षअघि करिब २० हजार पोस्ट बक्सका सेवाग्राही थिए,’ गोश्वारा हुलाक कार्यालयका प्रमुख प्रद्युम्नप्रसाद उपाध्याय भन्छन्, ‘अहिले सात–आठ हजार मात्र छन्, यसका विभिन्न कारण छन् ।’ हुलाकबाट भन्दा अन्यत्र छिटो सेवा भएकाले पनि पोस्ट बक्स प्रयोग गर्नेको संख्या घटेको उनको भनाइ छ । पछिल्लो डेढ वर्ष कोरोना महामारीका कारण पनि नवीकरण नगर्नेको संख्या बढेको हुलाक कार्यालयको आकलन छ । हाल खासगरी कम्पनीहरूले मात्र पोस्ट बक्स सेवा लिने गरेको हुलाकका कर्मचारी बताउँछन् ।
हुलाक सेवाका सबै प्रयोगकर्ता घट्दै
हुलाकका सबै सेवाका प्रयोगकर्ता ठूलो संख्यामा घट्दै गएका छन् । सन् २०१६ मा आन्तरिकतर्फ तीन करोड ४५ लाख ५० हजार हुलाक सेवा प्रदान भएको थियो । सन् २०१९ मा आउँदा घटेर एक करोड ४४ लाख मात्र छ । सन् २०२० र २०२१ को तथ्यांक तयार नभएको, तर संख्या घटेको हुलाक सेवा विभागका सहायक प्रवक्ता रमेशकुमार कटवालले बताए ।
वैदेशिकतर्फ सन् २०१६ मा ३८ लाख ७४ सेवा आदानप्रदान भएकोमा सन् २०१९ मा आठ लाख ६७ हजार मात्र भएको छ । हुलाकका अन्य सेवाहरू हुलाक बचत खाता तथा धनादेश, टिकट बिक्रीलगायत सेवा पनि खुम्चिएका छन् । हुलाकका सेवाहरू समयानुकूल बनाउन छलफल भइरहेको कटवाल बताउँछन् ।
हुलाकले हालै देशभरका जिल्ला प्रशासन कार्यालयका पासपोर्टको ढुवानी गर्न राहदानी विभागसँग सम्झौता गरेको छ । त्यस्तै, गुगल प्लसमार्फत प्रविधिको प्रयोग गरी सेवाग्राहीकै घरसम्म पार्सल पुर्याउने गरी सेवालाई आधुनिक बनाएको छ । साथै, सेवालाई थप छिटो र प्रभावकारी बनाउन हुलाकले डाँक सेवा पुनरावलोकन गर्ने तयारी गरेको छ । निजी कम्पनीले गर्ने इ–कमर्सका कामबारे हुलाकमा छलफल भइरहेको छ । हुलाक सेवा स्वायत्त नहुँदा पनि पछि परेको गोश्वारा हुलाकका प्रमुख उपाध्याय बताउँछन् । ‘सूचना प्रविधिको विकाससँगै हुलाक सेवा पछि परेको छ, पुरातन शैलीमै चलेको छ,’ उनले भने, ‘अब हुलाक सेवामा आधुनिकीकरण अत्यावश्यक भइसकेको छ ।’
विभिन्न देशले हुलाकका सेवालाई आधुनिक प्रविधिसँग जोडेर यसलाई प्रभावकारी बनाउँदै लगेका छन् । नेपालमा पनि अन्य देशको उदाहरणबाट सिकेर गाउँ–गाउँसम्म संयन्त्र भएको हुलाक सेवालाई उपयोग गर्नेबारे बहस सुरु भएको छ । शुक्रबार विश्व हुलाक दिवस मनाउँदै गर्दा नेपालमा पनि यसबारे छलफल भएको थियो । हरेक वर्ष ९ सेप्टेम्बरमा हुलाक दिवस मनाइन्छ । हुलाक दिवस बिदाको दिनमा पर्ने भएकाले नेपालमा शुक्रबार नै विभागले एक कार्यक्रम आयोजना गरी मनाएको छ ।
को हो पोस्ट बक्स नम्बर सेवा ?
हुलाकले इच्छुक सेवाग्राही (व्यक्ति वा संस्था)को नाममा एउटा पोस्ट बक्स नम्बर दिन्छ । कार्यालयमा सोही नम्बर लेखिएको बक्स राखिदिन्छ । उक्त व्यक्ति वा संस्थाको नाममा आएका चिठीपत्र तथा अन्य सामान त्यही बक्समा जम्मा हुन्छ । यस्तो बक्सको साँचो प्रयोगकर्ता र हुलाक कार्यालयसँग हुन्छ । सम्बन्धित सेवाग्राहीले आफूले इच्छाएको वेला बक्सबाट सामान निकाल्न सक्छ । विगतमा यस्तो सेवा निकै लोकप्रिय थियो ।