वीरगन्ज नाकामा निर्माणाधीन होल्डिङ सेन्टरको ५५ प्रतिशत कार्य सम्पन्न

सोमबार, १८ असोज, २०७८
डिजिटल संस्करण

वीरगन्ज–रक्सौल नाकाको वीरगन्ज भन्सारको पश्चिमपट्टिको गोदाममा निर्माणाधीन होल्डिङ सेन्टरको ५५ प्रतिशत काम सम्पन्न भएको छ । भारतबाट भित्रिनेहरूलाई क्वारेन्टिनमा राख्न गत असार २५ गतेदेखि सुरु भएको निर्माण कार्य हालसम्म ५५ प्रतिशत सम्पन्न भएको ठेकदार कम्पनी हनुमान कन्सट्रक्सनले जनाएको छ । 

वीरगन्ज–रक्सौल नाकामा एक हजार व्यक्तिलाई खान, बस्न र चिकित्सा सेवा निशुल्क उपलब्ध गराउने गरी सुविधा सम्पन्न होल्डिङ सेन्टर निर्माण भइरहेको छ । नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा निर्माण भइरहेको होल्डिङ सेन्टरको एउटाको बजेट करिब २८ करोड रहेको ठेकेदार कम्पनीको भनाइ छ । एउटा प्रशासनिक भवन, एउटा सेन्ट्रल किचेन र २० वटा क्वारेन्टिन हल गरी कुल २२ वटा भवन निर्माण भइरहेको ठेकेदार कम्पनीका इन्जिनियर विनोद सन्जेलले जानकारी दिए ।

उनका अनुसार होल्डिङ सेन्टर निर्माण कार्य तीव्र रूपमा भइरहेकाले प्राविधिक कठिनाइ नआए आगामी एक महिनामा सम्पन्न हुनेछ । अहिले दैनिक सयभन्दा बढी कामदार काम गरिरहेका छन् । 

कोरोनालगायत अन्य संक्रामक महामारीको वेला भारतबाट वीरगन्ज नाका हुँदै नेपाल भित्रिनेहरूलाई सीमा क्षेत्रबाट बोलाएर स्वास्थ्य परिक्षणपछि त्यस क्वारेन्टाइनमा १० देखि १४ दिनसम्म राख्न सकिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

सुझावित समाचार