नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संस्थापन पक्षको दम्भका कारण पार्टीमा समस्या देखिएको बताएका छन्। उनले क्रियाशील सदस्यता विवाद अझै टुंगो नलागेकोलगायतका प्रसंगमा यस्तो बताएका हुन्।
उनले आफूहरूले विवाद समाधान गरेर जानुपर्छ भनेर आवाज उठाए पनि पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान भन्ने गरेको बताए। ‘दम्भ देखायो भन्छन्। हामीले के दम्भ देखाउने ?’ चाक्सीबारीमा आज उनले प्रश्न गरे, ‘दम्भ त जो पार्टी सत्तामा छ, संस्थापनमा छ उनीहरूले देखाएका छन्।’
पार्टी पदाधिकारीहरूले वेलैमा क्रियाशील सदस्यताको विवाद हल गर्नुपर्नेमा त्यसो नगर्दा समस्या भइरहेको उनले बताए। 'कामचाहिँ गर्न नहुने खालका गर्ने। कार्यकर्ताको मनोबल गिराउने काम गर्ने अनि हामीले यसो गर्न पाइँदैन भन्दा बोल्न पाइँदैन भनेर भन्ने तिनीहरू को हुन् ? यो पार्टीमा सबैको लगानी छ। पदमा पुगेँ भनेर चाकडी गर्ने र गुणगान मात्रै गाउने ?’ उनले भने।
उनले १४औँ महाधिवेशनबाट पार्टीलाई सुधार गरेर जानुपर्ने बताए। जिम्मेवार नेताको हातमा नेतृत्व पुर्याउन उनले आग्रह गरेका छन्। काम गर्न सक्ने नेताहरू अब अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले असफल नेताहरूलाई नेतृत्वमा पुर्याउन नहुने बताए।