कांग्रेस पालिका अधिवेशन : चन्द्रागिरिमा घनश्याम गिरी

सोमबार, १८ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिकाको सभापतिमा घनश्याम गिरी चयन भएका छन्। चन्द्रागिरि नगरपालिकाको आइतबार राति सम्पन्न अधिवेशनबाट गिरी सर्वसम्मत सभापतिमा चयन भएका हुन्। उनी चन्द्रागिरि नगरपालिकाका निर्वाचित नगरप्रमुखसमेत हुन्।

यस्तै, दुई उपसभापतिमा राजेन्द्रविक्रम बानियाँ र इन्द्रावती श्रेष्ठ, दुई सचिवमा नवीन महर्जन र राजेन्द्र महर्जन, दुई सहसचिवमा भुवन श्रेष्ठ र जीवनकुमारी गिरी, दुई कोषाध्यक्षमा विनु बस्नेत र मन्जयप्रकाश श्रेष्ठ निर्विरोध चयन भएका हुन्। चन्द्रागिरि नगरपालिका काठमाडौंभित्रकै महानगरपालिकापछिको सबैभन्दा ठूलो नगरपालिका हो। यस नगरपालिकामा १५ वडा छन्। काठमाडौंभित्र सर्वसम्मत नेतृत्व छनोट हुने चन्द्रागिरि नगरपालिका पहिलो हो।

यसअघि काठमाडौं महानगरपालिकासहित आठ स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । कीर्तिपुर नगरपालिकाले सर्वसम्मत नेतृत्व चयन गर्ने भएकाले नेतृत्व चयनमा ढिला भएको र दक्षिणकाली नगरपालिकामा वडा नं. २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाडौंका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिए।

दक्षिणकाली नगरपालिकाको पनि दसैँअघि निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समिति अगाडि बढिरहेको छ। रासस

सुझावित समाचार