रसुवागढी नाकामा ‘हुक एन्ड ड्रप’ प्रणालीको तयारी

शुक्रबार, १५ असोज, २०७८
डिजिटल संस्करण

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा हुक एन्ड ड्रप प्रणाली लागू गर्ने तयारी गरिएको छ । रसुवागढी नाका हुँदै नेपाल आयात हुने सामग्रीको आयात बढाउन हुक एन्ड ड्रप प्रणाली लागू गर्ने तयारी गरिएको हो । यस्तो मोडल अहिले तातोपानी नाकामा कार्यान्वयनमा रहेको छ ।  

रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद रेग्मीका अनुसार बिहीबार वाणिज्य दूत नवराज ढकालले तिब्बत वाणिज्य विभागका उपमहानिर्देशक वाङ पिङ, तिब्बत परराष्ट्र कार्यालय, ल्हासा भन्सार कार्यालय, पोर्ट एड्मिनिस्ट्रेसन विभागका निर्देशकलगायतसँग तिब्बत वाणिज्य विभागमा नेपाल–चीनबीच नेपाल सामान आयातलाई बढाउन छलफल गरेका थिए । सोही क्रममा चिनियाँ पक्षले यस्तो जानकारी गराएको हो । छलफलमा तातोपानी मोडलमा रसुवागढी नाकाबाट पनि हुक एन्ड ड्रप मोडल सञ्चालन गर्न प्रस्ताव राखेका थिए ।

प्रस्तावमा यो प्रणाली सञ्चालनका लागि चिनियाँ पक्षले स्थलगत रूपमा अध्ययन गर्ने बताएको छ । नेपाली पक्षले रसुवागढी नाकाबाट हुक एन्ड ड्रपमार्फत सामग्रीको आयात बढाउन चिनियाँ पक्षलाई लामो समयदेखि प्रस्ताव गर्दै आएको छ । नेपाली पक्षको पटक–पटकको प्रस्तावसहितको अनुरोधमा चिनियाँ पक्ष हुक एन्ड ड्रप प्रणाली लागू गर्न तयार देखिएको हो ।  

के हो हुक एन्ड ड्रप मोडल ? 

चीनबाट सामान बोकेर आएका चिनियाँ गाडीले सिमानासम्म आएर सामान छोडिदिन्छ । नेपालबाट इन्जिन मात्र लगेर कन्टेनरलाई तानेर नेपालतर्फको यार्डमा ल्याउन पाउँछ । त्यसपछि सो कन्टेनरलाई अनलोड गरी सीमापार लगेर छाडिदिन्छ । यस प्रणालीअनुसार जति धेरै सामान नेपालतर्फ तान्न सक्यो, त्यति नै बढी सामान भित्रिन्छ । 

तातोपानी नाकामा यो मोडल सुरु भएसँगै रसुवागढी नाकाबाट पनि यही मोडलमा सञ्चालन गर्ने नेपाली पक्षले पटक–पटक चिनियाँ पक्षसँग प्रस्ताव गरेको थियो । त्यसका लागि सुरुवातमै सिल्क ट्रान्सपोर्ट अघि सरेको छ । नाकाबाट सहज रूपमा आयात बढाउन तातोपानी मोडलको हुक एन्ड ड्रप प्रणालीअनुसार आयात बढाउनुपर्ने माग व्यवसायीको छ । 

हुक एन्ड ड्रपमार्फत सामग्री भन्सार यार्डसम्म सहजै पुर्याउन सिल्क ट्रान्सपोर्ट कम्पनीले टेलरसमेत ल्याइसकेको छ । १३ वटा टेलर हेड तयारी अवस्थामा रहेको सिल्क ट्रान्सपोर्ट कम्पनीका सञ्चालक सोनाम वाङ्दी तामाङले बताए । उनका अनुसार कम्पनीसँग ४० वटा यस्ता टेलर छन् । तत्कालका लागि नाकामा १३ वटा तयारी अवस्थामा राखेको उनले जानकारी दिए । चिनियाँ गाडीमा आएको सामग्री हुक एन्ड ड्रपमार्फत स्वास्थ्य मापदण्ड अपनाई सामग्री सुरक्षित रूपमा भन्सार यार्डसम्म पु¥याउने जिम्मा दिएमा आफूहरू तयारी अवस्थामा रहेको समेत उनले जानकारी दिए । सोही कम्पनीले तातोपानी नाकाबाट पनि काम गरिरहेको छ । 

कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । ०७६ माघ १५ देखि गएको ०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । 

अहिले रसुवागढी नाकाबाट चिनियाँ नौवटा कन्टेनरमा सामान आयात भइरहेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड–अनलोड गर्न स्वास्थ्यका मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

सुझावित समाचार