छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको खेलमा एपिएफले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै समूह ए को विजेता बनेको छ। प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले पुलिसमाथि २५–१४, २१–२५, २५–१८ र २५–१९ को सेटमा जित निकाल्यो ।
जितसँगै एपिएफले दुई खेलमा ६ अंक जोडेको छ। पुलिस भने समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्याे । पुलिसले दुई खेलमा तीन अंक जोड्यो।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले चार लाख तथा उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले एक लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले जनही १० हजार रुपैयाँ पाउनेछन्।