मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही समय लाग्ने भएको छ । कानुनी जटिलता हटेपछि मन्त्रिपरिषद् विस्तार हुने सत्तारुढ दल माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए ।
बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक जीवनबारे मात्रै छलफल भएको छ । कानुनी जटिलताले गर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिला भएको उनले बताए ।
उनले भने, ‘कानुनी जटिलता अन्त्य हुने प्रक्रियामा छ । त्यसको अन्त्य भइसकेपछि दलहरूबीच बसेर मन्त्रिपरिषद् विस्तारबारे नीतिगत निर्णय भएपछि पार्टीहरूले आ–आफ्ना प्रतिनिधि पठाउने कुरा हुन्छ । पाँच दलको बीचमा छलफल भएर टुंगोमा पुगिनसकेकाले स्थायी कमिटीमा एजेन्डाको रूपमा प्रवेश पाएन ।’
बैठकमा पार्टीको संगठनलाई व्यवस्थित बनाउने सन्दर्भमा संगठन विभागले सुझाव र योजनाहरु पेश गरेको र ती योजनालाई स्थायी कमिटी बैठकले स्वीकार गरेको गुरुङले बताए । बैठकमा विगतमा विभिन्न समयमा भएको पार्टी एकीकरणमा आएका नेता, कार्यकर्ता संगठित हुन छुटेको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न बनेको कार्यदलले प्रतिवेदन पेश गरेको पनि उनले जानकारी दिए ।
कार्यदलले बुझाएको सुझावलाई ध्यान दिएर त्यही अनुसार सांगठनिक प्रक्रियामा लैजाने उनले बताए । बैठकमा पार्टी स्कूल विभागले पनि पार्टी स्कूल विभागलाई कसरी लैजाने भन्ने योजना प्रस्तुत गरेको थियो । यसलाई थप अध्ययन गरेर व्यवस्थित रुपमा टुंगो लगाइने उनले बताए ।