नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मकवानपुरका १० मध्ये नौ स्थानीय तहमा निर्वाचनका लागि मतदान हुने भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका कार्यसमिति सर्वसम्मत हुने निश्चित भएसँगै नौ स्थानीय तहमा मात्र मतदान प्रक्रिया अघि बढ्ने भएको हो । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी, बकैया, बागमती, राक्सिराङ, मकवानपुरगढी, भीमफेदी र कैलाश गाउँपालिकामा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि मतदान प्रक्रिया अघि बढ्ने निश्चित भएको कांग्रेस मकवानपुर प्रवक्ता प्रदीप कोइरालाले बताए ।
हेटौँडा उपमहानगर कार्य समिति नेतृत्वका लागि शेरबहादुर देउवा पक्षधर र देउवा इतरका खेमाले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरिसकेका छन् । हेटौँडा उपमहानगरको नेतृत्वका लागि देउवा पक्षधरका उत्सव इटेनी र इतरको खेमाबाट महेन्द्र राउतले सभापतिमा आफ्नो प्यानल नै घोषणा गरेका हुन् । इटेनीको प्यानलमा उपसभापति रामकृष्ण कोइराला, डोल्मा स्याङ्बो, सचिव सविन न्यौपाने, हर्करत्न लामा, सहसचिव निगम श्रेष्ठ र विकास बानियाँ उम्मेदवारको रूपमा रहेका छन् ।
देउवा इतरको नेतृत्व गर्दै महेन्द्र राउतले प्यानलसहित हेटौँडा उपमानगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राउतको प्यानलमा उपाध्यक्ष रोशन गोले, ज्योति कोइराला, सचिव कुमार पोखरेल, गंगा पौडेल, सहसचिव सोममाया मोक्तान र अञ्जनीकुमार पराजुली रहेका छन् ।
दुवै समूहले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । यसैगरी राक्सिराङमा देउवा पक्षधरको रूपमा देवकुमार लामा र देउवा इतरका रूपमा वीरेन्द्र जिम्बा र जयबहादुर तितुङको दाबी रहेको छ । मनहरी गाउँपालिकामा प्रकाश बर्तौला, शंकर न्यौपाने, मानबहादुर मोक्तान र चन्द्रबहादुर पौडेल सभापति पदको आकांक्षी रहेका छन् ।
जिल्लाको एउटा मात्रै नगरपालिका थाहा नगरमा तीनजनाले सभापति पदमा दाबी गरिरहेका छन् । थाहा सभापतिमा भरत गोपाली, प्रमोदकृष्ण जोशी र नवराज लामा रहका छन् । मकवानपुरगढी गाउँपालिका सभापतिमा गोपी अधिकारी, राजीवर मोक्तान र अर्जुन दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।
भीमफेदी गाउँपालिका सभापतिमा सञ्जीव श्रेष्ठ र नारायण थापाले उम्मेदवारी घोषणा गरेका छन् । इन्द्रसरोवर गाउँपालिकामा विश्व लामा सर्वसम्मत हुने सम्भावना रहेको छ । बागमती गाउँपालिका सभापतिमा डिल्लीप्रसाद घोरासैनी र फणिन्द्रकुमार तिमल्सिनाको नाम चर्चामा छ । वकैया गाउँपालिका सभापतिमा भूमिनन्द गौतम, दिलबहादुर भोम्जन, निशान बजगाईं र सोमबहादुर तिमल्सिना चर्चामा रहेका छन् । कैलाश गाउँपालिका सभापतिमा माणिकलाल मोक्तान, गुणराज पाठक र राजेन्द्र घिसिङले सभापतिमा दाबी गरिरहेका छन् ।