नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँचदलीय गठबन्धनको केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडि बढ्ने बताएका छन् । अध्यक्ष नेपालले बिहीबार पार्टी केन्द्रीय कमिटी बैठकको समापन गर्दै पाँचदलीय गठबन्धनको बीचमा सम्बन्ध सुमधुर रहेको बताए ।
उनले बाहिर हल्ला भएजस्तो गठबन्धन टुट्ने, फुट्ने र सरकार ढल्ने कुनै सम्भावना नरहेको उनले स्पष्ट पारे । नेपालले गठबन्धनका बीचमा केन्द्रदेखि स्थानीय तहसम्म समन्वय संयन्त्र बनाएर अगाडि बढ्ने तयारी भइरहेको जानकारी दिए ।
गठबन्धनलाई आगामी चुनावभन्दा पछिसम्म निरन्तरता दिइने उनले बताए । उनले भने, ‘सरकारमा सहभागी दल नेताहरूका बीचमा निकै राम्रो सुमधुर सम्बन्ध छ । बाहिर कसैले कुनै हल्ला फैलाउन खोजे पनि यो गठबन्धन टुट्छ, फुट्छ, यो सरकार ढल्छ भन्ने कुरामा कुनै सत्यता छैन । छिट्टै हामीले यसको संरचना बनाइरहेका छौँ । त्यो संरचना केन्द्रमा बन्नेछ । दस्ताबेज पास गर्नेछ । यसको नामाकरण पनि गर्नेछ । त्यसको प्रदेश, जिल्ला र पालिकामा पाँचै दलको बीचमा समन्वय संयन्त्र बनाउनेछौँ । सहकार्य पनि गर्दै जानेछौँ । आगामी चुनावमा हामी, चुनावसम्म र चुनावपश्चात् पनि हामी यो गठबन्धनलाई निरन्तरता दिन चाहन्छौँ ।’
नेपालले गठबन्धनको मूल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवादको दिशामा अगाडि बढ्ने नीति रहेको उल्लेख गरे । उनले आफ्नो पार्टी कसैसँग मिसिनुपर्ने आवश्यकता नभएको पनि उनले स्पष्ट पारे । पार्टीको जग बलियो भएको र कार्यकर्ताहरूको व्यापक समर्थन भएका कारण संगठन फैलिँदै गएको पनि उनको भनाइ छ ।