नेपाल प्रहरीले १८ लाख ७५ हजार पाँच सय नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी–मनोहरा नगरपालिका– ७ हरहर महादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा बिहीबार बिहान १३ जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुने गरी जुवा खेलिरहेका १३ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।
पक्राउ परेकाहरूबाट प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।