विदेशी पर्यटकले नेपाल प्रवेश गर्नका लागि डबल डोज भ्याक्सिन लगाएको प्रमाण वा कोभिड नेगेटिभ देखिएको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने हुन्छ ।
सरकारले नेपालमा घुमफिर गर्न आउने विदेशी पर्यटकका लागि आवागमन सहज बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमणमा आउने पर्यटकलाई अनअराइभल भिसा खुला गरेको हो । अब नेपाल प्रवेश गर्नका लागि विदेशी पर्यटकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सडकमार्गका प्रवेश बिन्दु (नाका)मै भिसा पाउनेछन् । तर, सरकारले मन्त्रिपरिषद् बैठकको निर्णय अझै सार्वजनिक भने गरेको छैन ।
कोभिड–१९ महामारी फैलिन नदिन सरकारले ०७६ फागुनदेखि पर्यटकलाई अनअराइभल भिसा रोकेको थियो । सरकारको पछिल्लो निर्णयसँगै नेपालले अनअराइभल भिसा खुला गरेका देशका नागरिकलाई नेपाल भ्रमण सहज हुने भएको छ । सरकारले कोभिडविरुद्धको डबल डोज भ्याक्सिनको मात्रा पूरा गरेका पर्यटकलाई क्वारेन्टिन पनि बस्नु नपर्ने निर्णय गरेको छ । तर, भ्याक्सिन नलगाएका पर्यटक भने अनिवार्य तोकिएको ठाउँमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ । नेपाल प्रवेश गर्नका लागि पर्यटकले कोरोना परीक्षण गरेको ७२ घन्टाभित्रको रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने हुन्छ ।
कोभिडपछि थिलथिलो परेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि विदेशी पर्यटकको आवागमन सहज बनाउन पर्यटन व्यवसायीहरूले सरकारसँग आग्रह गर्दै आइरहेका थिए । पर्यटन क्षेत्रका व्यावसायिक संस्थाहरूले डबल डोज भ्याक्सिन लगाएका पर्यटकलाई निर्वाध रूपमा घुमफिर गर्ने वातावरण बनाउन दबाब सिर्जना गरिररहेका थिए । भ्याक्सिन लगाएका विदेशीलाई सहज रूपमा घुमफिर गर्न आउन दिने वातावरण मिलाउन नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मी आफैँ सक्रिय भएर लागेका थिए ।
पर्यटन बोर्डले अनअराइभल भिसा खुला गर्न, इन्डियन पर्यटकलाई लक्षित गरेर बोर्डर एरिया खुला गर्न, खोपको मात्रा पूरा गरेकालाई अनिवार्य क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गर्नेलगायत सुझाब समेटेर सरकारलाई प्रतिवेदन बुझाएको थियो । ‘हाम्रो उद्देश्य भ्याक्सिनेटेड पर्यटक निर्वाध रूपमा नेपाल घुम्न आउन पाउन भन्ने हो’ रेग्मीले भने, ‘कोभिड कम हुँदै गएपछि आन्तरिक पर्यटन बिस्तारै लयमा फर्किँदै छ, विदेशी पर्यटक पनि आउन थाले भने थलिएको पर्यटन जुर्मुराउन थाल्नेछ ।’
विश्वभरि कोरोना संक्रमण कम हुँदै गएको र कोभिडविरुद्धको भ्याक्सिनको मात्रा पूरा गर्नेको संख्या पनि बढेको भन्दै सरकारले पनि पर्यटक आवागमनलाई सहज बनाउन खोजेको गृह मन्त्रालय स्रोतले बतायो । ‘अनअराइभल भिसा र क्वारेन्टिनको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ, तर अझै केही विषयमा स्पष्ट हुनका लागि छलफल गर्नुपर्ने भएको छ’ स्रोतले भन्यो, ‘सरोकारवालासँग आवश्यक छलफल गरेर प्रस्ट भएपछि निर्णय सार्वजनिक हुन्छ ।’
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले पनि मन्त्रिपरिषद्को निर्णय अझै हातमा नपरेको बताए । ‘सरकारले पूर्ण खोप लगाउनेलाई अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको भन्ने सुनियो, तर अझै आधिकारिक रूपमा जानकारी आएको छैन’ उनले भने, ‘हामीले पनि प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा खोपको मात्रा पूरा गरेका पर्यटकलाई अनअराइभल भिसा दिन र क्वारेन्टिन बस्न नपर्ने व्यवस्था मिलाउन सुझाब दिएका थियौँ ।’
नेपालमा पनि पर्यटन क्षेत्रमा अग्रपंक्तिमा खटिने व्यवसायी र कर्मचारी धेरैले भ्याक्सिन लगाइसकेको पर्यटन बोर्डका पूर्वप्रमुख दीपकराज जोशी नेतृत्वको टोलीले गरेको एक अध्ययनले देखाएको छ । बुधबारसम्म नेपालमा पूर्ण मात्रामा खोप लगाउनेको संख्या ५७ लाख ५२ हजार र पहिलो डोज मात्र लगाउनेको संख्या ६२ लाख ६२ हजार पुगेका छन् ।
आइरहेका थिए । पर्यटन क्षेत्रका संघ–संस्थाहरूले दैनिकजसो विज्ञप्ति जारी गर्दै खोप लगाएका पर्यटकलाई अनअराइभल भिसा खुला गर्न र क्वारेन्टिन अनिवार्य नगर्न दबाब सिर्जना गरिरहेका छन् । कोभिडले थिलथिलो बनाएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भीर नबने विरोध÷धर्नामा उत्रिने तयारी व्यवसायीहरूको छ । ‘हाम्रा माग सरकारले पूरा गरेको भन्ने सुनिएको छ, तर अझै आधिकारिक जानकारी आइसकेको छैन’ नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले भने, ‘अनअराइभल भिसा पनि पाउने र क्वारेन्टिन पनि बस्नु नपर्ने भएपछि विदेशी पर्यटक घुम्न आउने विश्वास छ ।’
डबल डोज खोप नलगाएका पर्यटकले भने नेपाल भ्रमणमा आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने हुन्छ । पर्यटन बोर्डले इन्डियासँग जोडिएका बोर्डर एरिया पनि खुला गर्न सुझाब दिएको थियो । ‘अहिले इन्डियाबाट मालवाहक सवारीसाधन मात्र आउन पाउँछन्, पर्यटक बोक्ने सवारीसाधनलाई पनि खुला गर्नुपर्छ’ बोर्डका सिइओ रेग्मीले भने, ‘खोपको मात्रा पूरा गरेका भारतीय पर्यटक पनि निर्वाध रूपमा घुम्न आउने वातावरण बनाइदिनुपर्छ ।’
बोर्डले पर्यटन चलायमान बनाउन थुप्रै सुझाब दिएको भए पनि मन्त्रिपरिषद्को निर्णय सार्वजनिक नहुँदा कुन–कुन सुझाब कार्यान्वयन भए भन्ने आधिकारिक जानकारी आएको छैन । उनले थपे, ‘हाम्रो उद्देश्य विश्वभरका भ्याक्सिनेटेड पर्यटक नेपाल घुम्न आउन भन्ने नै हो, अनअराइभल भिसा खुला गर्नुका साथै क्वारिन्टन पनि बस्न नपर्ने भएपछि विश्वभरि राम्रो सन्देश जानेछ ।’