काठमाडौंमा नेबिको बिस्कुटको उत्पादन फेरि सुरु

बिहिबार, ७ असोज, २०७८
डिजिटल संस्करण

नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादन गर्ने कम्पनी नेबिकोले काठमाडौंको कारखानाबाट उत्पादन सुरु गरेको छ । गत साउन २३ गते भएको आगलागीका कराण उत्पादन रोकिएको उद्योगले पुनः  उत्पादन सुरु गरेको हो । 

मानवीय क्षति नभए पनि आगलागीका कारण भएको क्षतिलाई शुभेच्छुकको सहयोग र सद्भावले मनोबल उच्च हुँदा छिट्टै उद्योग पुनः सञ्चालन गर्न सफल भएको कम्पनीले जनाएको छ । आगलागीले पूर्ण क्षति भएको उद्योग ४४ दिनमै सञ्चालनमा ल्याए पनि उत्पादन भने केही घटेको कम्पनीले उल्लेख गरेको छ ।

हाल कम्पनीको उत्पादन पहिलेको तुलनामा ६० देखि ७० प्रतिशत मात्र रहेको उल्लेख छ । केही समयमा उत्पादन क्षमता पहिलेको भन्दा बढाई बजारमा सशक्त रूपमा प्रस्तुत हुने कम्पनीले जनाएको छ । यो सफलतासँगै आउँदा दिनमा अझ परिष्कृत ढंगले बजारमा प्रस्तुत हुने कम्पनीको दाबी छ । 

सन् २०६४ देखि नेपाली बजारमा विभिन्न उत्पादन बिक्री गर्र्दै आएको कम्पनीले हाल बिस्कुट, कुकिज, कन्फेक्सनरिज र ब्रेकफास्ट सिरियल्स उत्पादनका लागि चारवटा युनिट सञ्चालन गरिरहेको जनाएको छ । 
 

सुझावित समाचार