उपत्यका प्रहरीलाई बागमती प्रदेशमातहत ल्याइनुपर्छ : आन्तरिक मामिलामन्त्री शाक्य

सोमबार, ४ असोज, २०७८
डिजिटल संस्करण

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजयक्रान्ति शाक्यले संघ सरकारमातहत रहेको उपत्यकाको प्रहरी प्रशासनलाई प्रदेशमातहत ल्याइनुपर्ने बताएका छन्। राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शाक्यले यस्तो बताएका हुन्। 

मन्त्री शाक्यले उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लाको प्रहरी मात्र प्रदेशको मातहतमा रहँदा समन्वय हुन नसकेको बताए। उनले प्रदेशका १३वटै जिल्लाको प्रहरीलाई प्रदेशमातहतमै राख्न केन्द्र सरकारसँग आग्रह गरेका छन्।

‘ललितपुर, भक्तपुर र काठमाडौँको प्रहरी मेरो प्रदेश मन्त्रालयको मातहतमा छैनन्। यसले समन्वय ब्रेक हुन पुगेको छ,’मन्त्री शाक्यको भनाइ थियो। त्यस्तै, उनले नेपाल सरकारको ऐनमा भएको व्यवस्थालाई अध्यादेशमार्फत ल्याएको यो बाध्यात्मक व्यवस्थाले केही जटिलता पैदा भएको बताए।

‘त्यसलाई सहजीकरण गर्दै बागमती प्रदेशका यी तीन जिल्लाको प्रहरी पनि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहतमा रहने व्यवस्था केन्द्र सरकारले छिटो गरोस् भन्ने आग्रह गर्न चाहन्छु,’ उनले भने। 

त्यसो हुन सके बागमती प्रदेशको शान्ति, सुरक्षालाई अझ चुस्त–दुरुस्त बनाएर लैजान सकिने उनको भनाइ थियो। कार्यक्रममा उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सातामा विपद् व्यवस्थापन, सञ्चार, दीर्घकालीन योजना र विपद् मापनलगायतका कामलाई अगाडि बढाएको जानकारी दिए।

मन्त्री शाक्यले बागमती प्रदेशका १०२ कानुन निर्माण भइसकेको जानकारी दिए। आवश्यक ऐन निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको शाक्यले बताए। उनले तत्काल आवश्यक ६ कानुन निर्माणलाई आफूले तीव्रता दिएको र छिट्टै कानुन निर्माण भई सहजता सिर्जना हुने विश्वास व्यक्त गरे।

सुझावित समाचार