नेपाली खेलाडीलाई एक्पोजरको खाँचो छ : डेभ वाटमोर

सोमबार, ४ असोज, २०७८
डिजिटल संस्करण

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–  २ अन्तर्गत नेपालले ओमानसँग ऐतिहासिक जित निकाल्यो। यसअघि सिरिजका सबै भेटमा नतिजा गुमाएको नेपालले घरेलु टोलीमाथि सात विकेटको जित निकाल्दै राजीनामा दिइसकेका प्रशिक्षक डेभ वाटमोरको सुखद बिदाई गर्याे । प्रशिक्षक वाटमोरले नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव दिलाउन नेपाल क्रिकेट संघ (क्यान)ले पहल गर्नुपर्ने सुझाब दिएका छन्।

प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका वाटमोरले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरैभन्दा धेरै पाएको खण्डमा राम्रो गर्ने बताए। नेपाली क्रिकेटको भविष्य राम्रो रहेको भन्दै उनले नेपाल क्रिकेट संघले खेलाडीलाई धेरैभन्दा धेरै खेलहरू आयोजना गरेर अनुभव दिनुपर्ने सुझाब दिए। अहिले भएको क्षमताभन्दा माथि उठ्न नेपालले बलियो टिमसँग खेल्न आवश्यक रहेको वाटमोरले औँल्याएका छन्।

त्रिकोणात्मक सिरिजअन्तर्गत ओमान भ्रमणमा नेपालले दुई खेलमा जित निकाल्दा दुई खेल गुमाउन पुग्यो। भ्रमणमा नयाँ अनुहारले स्थान बनाउँदा प्रदर्शन पनि सुधारिएको देखियो। कप्तान ज्ञानेन्द्र मल्लसहित आसिफ शेख, कुशल भुर्तेलजस्ता युवा खेलाडीले सम्झनलायक प्रदर्शन गरे। ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलोपटक पराजित गरेको हो।

ओमान भ्रमणको क्रममा नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो भने ओमानसँग पहिलो खेलमा पाँच विकेटले पराजित भएको थियो। अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो। आीसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गतको आठौँ खेलमा सुखद जित निकालेको नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ । आठ खेलबाट आठ अंक नै जोडेको नेपालभन्दा माथि शीर्ष स्थामा १३ खेलबाट २० अंक जोडेको ओमान रहेको छ। दोस्रो स्थानमा १५ खेल खेलेर १४ अंक जोडेको अमेरिकाका छ भने तेस्रो स्थानमा आठ खेलबाट नाै अंक बनाएको स्कटल्यान्ड छ । नामिबिया, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवान्युगिनी (पिएनजी) क्रमशः पाँचौँ, छैटाैँ र सातौँ स्थानमा रहेका छन्।

सुझावित समाचार